Main News

‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ कार्यक्रममा सरकारी चिकित्सकको आपत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३१ गते २०:२४
‘एक चिकित्सक एक स्वास्थ्य संस्था’ कार्यक्रममा सरकारी चिकित्सकको आपत्ति (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ काठमाडौं । सरकारले एक चिकित्सक एक स्वास्थ्य संस्था’ कार्यक्रम असारदेखि शुरु गर्न लागेको छ । त्यसका लागि कार्यविधि बनाइसकिएको छ । तर सरकारी चिकित्सक र स्वास्थ्यकर्मीले भने कार्यविधिका केही बुँदामा असन्तुष्टि जनाउँदै विरोध गरिरहेका छन् ।

चिकित्सकले यसअघि एक डाक्टर एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्न माग गर्दै आएका थिए । सरकारले त्यही माग अनुसार नै कार्यक्रम अघि बढाएको छ । तर सरकारी चिकित्सकले भने अहिले यसको विरोध गरिरहेका छन् ।

कार्यविधि बनाउनु अगाडी आफुहरुले दिएको सुझाव नसमेटिएको उनीहरुको गुनासो छ । अहिलेको कार्यविधिले डाक्टर र स्वास्थ्यकर्मी मर्कामा पर्ने सरकारी चिकित्सकको तर्क छ ।

एउटा संस्थामा काम गरिरहेका चिकित्सकले अन्यत्र काम गर्न नपाउने व्यवस्थाप्रति सरकारी चिकित्सकको मुख्य आपत्ति छ । कार्यविधिमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यत्र सेवा गर्न नपाउने उल्लेख छ । आफुहरुलाई एकै स्थानमा बाँध्न खोजिएको भन्दै सरकारी चिकित्सकले यस्तो व्यवस्था मान्य नहुने बताएका छन् ।

सरकारी सेवामा आवद्ध नर्सले पनि कार्यविधिको विरोध गरेका छन् । यसरी कार्यविधिमा स्वास्थ्यकर्मीलाई चित्त नबुझेपछि सरकारले संशोधन गरेर मात्रै लागू गर्न उपयुक्त हुने वरिष्ठ चिकित्सकको सुझाव छ ।

सरकारले भने असारदेखि कार्यविधि लागू हुने स्पष्ट पारेको छ । नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिनु यसको उद्देश्य भएको भन्दै स्वास्थ्य मन्त्रालयले असन्तुष्टिका विषयमा पछि छलफल गर्न सकिने जनाएको छ ।

सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले निजी अस्पताललाई प्राथमिकता दिने गरेको गुनासो आइरहँदा सरकारले यो कार्यविधिले त्यसलाई पनि सम्वोधन गर्ने जनाएको छ ।

चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई कार्यरत संस्थाले कार्य सम्पादनका आधारमा चिकित्सकलाई शत प्रतिशत र कार्यक्रम सञ्चालनबाट प्राप्त आयमा ८० प्रतिशत अतिरिक्त भत्ता दिने पनि उल्लेख छ । त्यसबाहेक पनि निःशुल्क स्वास्थ्य बिमा, क्षमता अभिवृद्धि तालिम लगायत वार्षिक १० लाख रुपैयाँसम्म अनुदान रकम उपलब्ध गराउने पनि कार्यक्रम पनि राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *