माओवादी केन्द्रका नेता पाण्डेयको हत्यामा श्रीमती नै मुख्य योजनाकार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३१ गते १७:१०
माओवादी केन्द्रका नेता पाण्डेयको हत्यामा श्रीमती नै मुख्य योजनाकार (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ कपिलवस्तु । कपिलवस्तुमा माओवादी केन्द्रका जिल्ला नेता दिपक पाण्डेयको हत्यामा श्रीमतीको मुख्य योजना रहेको पाइएको छ ।

प्रहरीले हत्यामा संलग्न र हतियार विक्री गर्ने गिरोहलाई समेत पक्राउ गर्न सफलता पाएको छ । नेता पाण्डेयलाई जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली हानिएको थियो ।

उहाँको उपचारका क्रममा जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । पाण्डेयकी श्रीमती महिमाको घटनामा संलग्न मध्येका ओम प्रकाश यादवसँग विवाहेत्तर सम्बन्ध रहेको र उनीहरुकै योजनामा हत्या भएको प्रहरीले आज जानकारी दिएको छ ।

घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादवलाई प्रहरीले पेस्तोल र ६८ राउण्ड गोलीसहित पक्राउ गरेको छ ।

त्यसैगरी हत्यामा संलग्न भएको अभियोगमा कपिलवस्तु नगरपालिका २ का साकिर अलि पखिया, रमजान साह मुसलमान र कपिलवस्तु नगरपालिका १ का पूर्णवीर पाल्पालीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले २ थान पेस्तोल र केही गोली समेत बरामद गरेको जनाएको छ ।

अनुसन्धानका लागि चलाइएको अभियानका क्रममा प्रहरीले हतियार उपलब्ध गराउने गिरोहसमेत समातेको छ । पाण्डेयको हत्यामा हतियार उपलब्ध गराएका र पछि लुकाउन सहयोग गरेका ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोही ठाउँका प्रवीण गुप्ता, यशोधरा गाउँपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिदटोलका नरसत अलि पक्राउ परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *