Main News

कांग्रेस सांसद नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न एमाले जनसंगठनहरुको माग

हिमालय टिभी
२०७८ जेठ ३१ गते १६:४८
कांग्रेस सांसद नरोत्तम वैद्यलाई तत्काल पक्राउ गर्न एमाले जनसंगठनहरुको माग

३१ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका विभिन्न जनसंगठनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेस वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् ।

गृहमन्त्री खगराज अधिकारीलाई भेटेर उनीहरुले वैद्यको अभिव्यक्तिप्रति फौजदारी कानूनसमेत आकर्षित हुने भन्दै अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल खेलकुद महासंघ, राष्ट्रिय युवा संघ नेपाल, मुस्लिम इत्तेहाद संगठन, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, पेशागत महासंघ र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका प्रतिनिधिले गृहमन्त्री अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले आफ्ना सांसदले आपत्तिजनक अभिव्यक्ति दिँदा पनि नेपाली कांग्रेसले अझै मौनता साँधेको भन्दै विरोध गरेका छन् । वैद्यलाई तत्काल सांसदबाट हटाउन उनीहरुले कांग्रेस पार्टीसित माग गरेका छन् । प्रदेशसभामा आपत्तिजनक अभिव्यक्ति दिँदा सांसदहरुले विरोध नगर्नु खेदजन्य विषय भएको बताएका छन् ।

गत शुक्रबार वाग्मती प्रदेशसभामा कांग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिनुभएको थियो । तर भएपछि प्रदेशसभामा माफी माग्नुभएको थियो । वैद्यले माफी माग्दै अभिव्यक्ति फिर्ता लिएपनि एमालेका जनसंगठनले कारवाहीको माग गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *