Political Hightlights

जसपाबाट सरकारमा सहभागी ११ मन्त्रीलाई अध्यक्ष यादवद्वारा स्पष्टिकरण माग

हिमालय टिभी
२०७८ जेठ ३१ गते १२:४६
जसपाबाट सरकारमा सहभागी ११ मन्त्रीलाई अध्यक्ष यादवद्वारा स्पष्टिकरण माग

३१ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी ११ जना मन्त्रीलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टिकरण सोध्नुभएको छ ।

पार्टीको निर्णय बेगर सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टिकरण सोध्नुभएको हो । अध्यक्ष यादवले पार्टीको कुन निर्णयबाट सरकारमा सहभागी भएको हो ? भनेर सात दिनको म्यादसहित स्पष्टिकरण सोधिएको जानकारी दिनुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री लक्ष्मणलाल कर्णले भने स्पष्टिकरणबारे आफूलाई जानकारी नभएको बताउनुभएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकारमा जसपाको नेतृत्व गरेका राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय सम्हाल्नुभएको छ ।

यसैगरी शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र कर्णले भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएकव छ ।

यस्तै राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुनुहुन्छ ।

यसैगरी चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मिया युवा तथा खेलकूद मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री हुनुहुन्छ ।

संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत साथ दिएको र राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेता बनाइएको भन्दै सात दिनभित्र जवाफ दिन भनिएको द्छ ।

हिजो मात्रै निर्वाचन आयोगले अध्यक्ष यादव र ठाकुर दुबैको निर्णय अमान्य भनिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्