राजनीति

प्रदेश २ मन्त्रिपरिषद् समावेशी र समानुपातिक नभएकोमा प्रदेश प्रमुख झाको असन्तुष्टि (पत्रसहित)

हिमालय टिभी
२०७८ जेठ ३० गते १४:२७
प्रदेश २ मन्त्रिपरिषद् समावेशी र समानुपातिक नभएकोमा प्रदेश प्रमुख झाको असन्तुष्टि (पत्रसहित)

३० जेठ २०७८ काठमाडौं । प्रदेश २ का प्रमुख राजेश झाले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धात अनुसार नभएको भन्दै मुख्यमन्त्रीसमक्ष असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रमुख झाले जेठ २८ गते मुख्यमन्त्री लालबाबु राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने भन्दै केही दिनअघि गरिएको मन्त्रिपरिषद विस्तारप्रति असन्तुष्टि जनाउनुभएको हो ।

मन्त्रिपरिषदको गठन मुख्यमन्त्रीको सिफारिसमै हुने भए पनि प्रदेश प्रमुखको हैसियतमा आफूले गर्ने भएकाले त्यो संविधान बमोजिम भए नभएको सवालमा चासो र सरोकार स्वाभाविक र जायज भएको झाको तर्क छ ।

प्रदेश प्रमुख झाले मन्त्रिपरिषदमा गैरमधेसी, मुस्लिम, दलित र महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व नभएको उल्लेख गर्नुभएको छ ।

प्रदेशभित्रको जनघनत्व, सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने स्मरण पत्रमा उल्लेख छ । प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसी लगायतका पक्षलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न ध्यानाकर्षण गरिएको छ ।

त्यस्तै मधेस आन्दोलनका शहीद परिवारको प्रतिनिधित्व पनि हुन नसकेको झाले उल्लेख गर्नुभएको छ । प्रदेशसभा गठन गर्दा समावेशी बनाइएजस्तै प्रदेशसभा सदस्यबाट मन्त्री चयन गर्दा पनि समावेशी बनाउनुपर्ने प्रमुख झाको मत छ ।

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले हालै जसपाकै महन्थ ठाकुर पक्षका मन्त्रीलाई सरकारबाट हटाई नेपाली कांग्रेसबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए ।

अहिले ९ सदस्यीय मन्त्रिपरिषदमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव मात्र महिला हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्