कर्णालीमा फ्लोर क्रस गर्ने एमाले सांसदमाथिको कारवाही सर्वोच्चद्वारा बदर
२८ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लार क्रस गरेर सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए । एमालेको माधवकुमार नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली हुनु भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो ।
माधव नेपाल पक्षधरका ४ सांसदले ह्वीप उल्लंघन गरी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए । उनीहरुमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गर्नु भएको छ ।
प्रतिक्रिया