मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

Himalaya Television
२०७८ जेठ २५ गते ८:०८

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

२५ जेठ २०७८ काठमाडौं । मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दैछ ।

प्रतिनिधिसभा विघटन गर्दै चुनाव तोकेर कामचलाउ बनेको सरकारले मन्त्रिमण्डल विस्तार गर्नु संविधानविपरीत भएको दाबीसहित हिजो रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट दर्ता गर्नु भएको हो । रिट निवेदनमाथि आज पहिलो सुनुवाइ हुन लागेको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन प्रथम दृष्टिमै गैरसंवैधानिक र कपटपूर्ण भएको रिट निवेदकको दाबी छ।

मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको प्रतिकूल रहेको दाबी रिट निवेदकले गरेका छन्। रिटमा दैनिक कार्य सञ्चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नलिनू भन्ने मागसहित अन्तरिम आदेशको माग गरिएको छ।

त्यसैगरी राष्ट्रलाई कुनै पनि गम्भीर आर्थिक असर पर्ने खालका काम नगर्न नगराउन आदेश दिन पनि माग गरिएको छ।

प्रधानमन्त्रीको मन्त्रिमण्डल विस्तारको कामले संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने भएकाले मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरूलाई काममा रोक लगाउन समेत अन्तरिम आदेश माग गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs