विदेश

भारतको पश्चिम बंगालमा चट्याङमा परेर कम्तीमा २३ जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ २५ गते ६:४६
भारतको पश्चिम बंगालमा चट्याङमा परेर कम्तीमा २३ जनाको मृत्यु

२५ जेठ २०७८ कोलकाता । भारतको पश्चिम बंगाल राज्यको तीन जिल्लामा सोमबार साँझ हुरीबताससहित भारी वर्षाका क्रममा चट्याङमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ ।

घटनामा दर्जनौ घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सरकारी अधिकारीहरुका अनुसार हुगलीमा १०, मुर्शिदावादमा ९, हावडामा २ र पश्चिम मेदिनीपुरमा २ जनाको मृत्यु भएको छ । मुर्शिदावादमा एकै परिवारका दुई किशोरको समेत मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

जंगीपुर महकमेमा मात्र सात जनाको मृत्यु भएको छ भने बहरमपुरमा दुई जनाले ज्यान गुमाएका छन् ।

अधिकारीहरुका अनुसार वर्षाका समय खेतमा काम गरिरहेको अवस्थामा उनीहरुको मृत्यु भएको हो । घटनामा घाइते भएकामध्ये सात जनालाई जंगीपुर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई दुई दुई लाख र घाइतेलाई ५० हजार आर्थिक राहत दिने घोषणा गरेका छन् ।

राज्यको सत्तारुढ टीएसीका राष्ट्रिय महासचिव अभिषेक बनर्जीले बुधबार र बिहीबार मृतकका परिवारजनसँग भेटघाट गर्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *