Main News

प्रदेश २ का ४ जना मन्त्री पदबाट बर्खास्त

हिमालय टिभी
२०७८ जेठ २४ गते ६:३३
प्रदेश २ का ४ जना मन्त्री पदबाट बर्खास्त

२४ जेठ २०७८ काठमाडौं । प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नै पार्टीका चारमन्त्रीलाई बर्खास्त गर्नुभएको छ ।

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउनुभएको हो ।

राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउनुभएको छ ।

पार्टीभित्र चर्को विवादका बाबजुद ठाकुर पक्ष शुक्रबार मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको केन्द्र सरकारमा सहभागी भएको थियो । ८ मन्त्री र दुई राज्यमन्त्री दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाबाट सरकारमा नेतृत्व गरेका राजेन्द्र महतोलाई उप्रधानमन्त्री बनाउनुभएको छ ।

महन्थ पक्ष केन्द्र सरकारमा सहभागी भए लगतै जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुर पुग्नुभएको थियो । यादवकै सक्रियतामा आइतबार संसदीय दलको बैठकले मुख्यमन्त्री राउतलाई संसदीय दलको नेता चयन गरेको छ ।

राउतलाई जसपाका ५५ मध्ये ३६ जना सांसदको साथ छ । राउतको पक्षमा हस्ताक्षर गर्नेमा पूर्व समाजवादीका ३० जना र पूर्व राजपाका ६ जना छन् ।

प्रदेश २ मा तत्कालीन संघीय समाजवादी पार्टीको २९, राजपाको २५ सिट थियो । स्वतन्त्रबाट निर्वाचित शेख अबुल कलाम आजाद पार्टी प्रवेश गरेपछि सांसद संख्या ५५ पुग्यो । अब प्रदेश २ सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सहभागी गराउने जसपा अध्यक्ष यादवको तयारी छ ।

अहिले भइरहेको छलफलअनुसार सहमति जुटेमा सरकारका लागि चाहिने बहुमत पुग्छ । प्रदेशमा हाल कायम रहेको १०४ सांसदमध्ये जसपामा ३६ सांसद राउतको पक्षमा छन् । कांग्रेसका १९ र माओवादीका ८ सांसद थपिँदा ६३ पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *