राजनीति

प्रदेश २ मा ठाकुर पक्षलाई हटाएर कांग्रेससँग सहकार्य गर्ने जसपाको प्रयास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते २०:५२
प्रदेश २ मा ठाकुर पक्षलाई हटाएर कांग्रेससँग सहकार्य गर्ने जसपाको प्रयास (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ पर्सा । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा गएपछिको असर प्रदेश २ मा पनि देखिएको छ । उपेन्द्र यादव समूहले प्रदेश २ को सरकारमा रहेका ठाकुर समूहका मन्त्रीहरुलाई हटाउने तयारी थालेको छ । जसपाले कांग्रेससँग सरकार बनाउने गरी छलफल अघि बढाएको छ ।

प्रदेश २ मा जनता समाजवादी पार्टीका नेता लालबाबु राउतको नेतृत्वमा सरकार छ । १ सय ७ सदस्यीय प्रदेश सभामा जसपाका ५५ सांसद छन् । तिमध्ये अध्यक्ष उपेन्द्र यादव समूहमा ३२ र ठाकुर समुहमा २३ जना छन् ।

यस्तै प्रदेशसभामा एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ११ जना सांसद छन् । मुख्यमन्त्री राउतले सरकारबाट महन्थ ठाकुर पक्षलाई निकाल्ने तयारी गरेपछि कांग्रेसतर्फ धेरैको नजर छ । किनकी कांग्रेससँग नमिली यो सरकार टिकाउन र नयाँ बनाउन संभव छैन ।

जसपा अध्यक्ष यादवले कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग छलफल गरिसक्नुभएको छ । जनकपुरधाममा पनि चहलपहल बढेको छ । कांग्रेसले सहकार्यका लागि मुख्यमन्त्री आफुले पाउनुपर्ने प्रस्ताव राखेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको सरकारले प्रदेश २ को जनभावना अनुसार काम गर्न नसकेको कांग्रेसले आरोप लगाउँदै आएको छ । आफूले सरकारको नेतृत्व पाए राउतले साढे ३ वर्षमा गर्न नसकेको वाँकी काम गरेर देखाउने कांग्रेसको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाड्नै नसक्ने अडानमा रहेको ठाकुर र ओलीलाई जसरी पनि सरकारबाट हटाउनुपर्ने निष्कर्षमा रहेको यादव समूह अब सँगै हिंड्ने सम्भावना सकिएको छ । जसका कारण प्रदेशमा पनि सँगै जाने सम्भावना कम छ । यद्यपि जसपाले भने यसबारेमा अहिलेसम्म कुनै निर्णय नभएको बताएको छ ।

सत्ता समिकरणका लागि जसपा अध्यक्ष उपेन्द्र यादव अहिले जनकपुरमै हुनुहुन्छ । कांग्रेस र माओवादी केन्द्रलाई साथमा लिएर आफ्नै दलको नेतृत्वमा सरकार बनाउने उहाँको योजना छ । तर राजनीतिक अंकगणित मिलाउन भने उहाँले अझै केही कसरत गर्नुपर्ने देखिएको छ ।

 

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्