Main News

यस्तो छ कोरोनाको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित बाँकेको पछिल्लो अवस्था (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २२ गते १४:३८
यस्तो छ कोरोनाको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित बाँकेको पछिल्लो अवस्था (भिडियो रिपोर्टसहित)

२२ जेठ २०७८ नेपालगञ्ज । कोरोनाको दोस्रो लहरको शुरुवातमा सबैभन्दा बढी प्रभावित भएको बाँकेमा अहिले अवस्था नियन्त्रणमा आएको छ । संक्रमण दर घटेसँगै बाँकेका अस्पतालमा बेड खाली हुन थालेका छन् । नेपालगञ्ज र कोहलपुरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका २० प्रतिशतभन्दा बढी बेड खाली भएका छन् ।

नेपालगञ्जको भेरी अस्पतालले कोरोना संक्रमितलाई छुट्टाएको २ सय मध्ये अहिले ४१ बेड खाली छन् । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा १ सय ३५ मध्ये ८५ बेड खाली भएका छन् । संक्रमित घटेपछि अब यी अस्पतालमा अन्य रोगका बिरामीको उपचार पनि शुरु गर्ने तयारी भएको छ ।

कोरोनाका संक्रमितलाई शल्यक्रियासहितको उपचार दिँदै आएको नेपालगञ्जको बेस्टन अस्पतालमा १६ मध्ये १३ बेड खाली भएका छन् । बाँकेमा नयाँ संक्रमित घटे पनि छिमेकी जिल्लाबाट गम्भीर बिरामी आउने क्रम रोकिएको छैन । अस्पतालका सामान्य बेड खाली भए पनि आइसीयु वार्ड भने अझै पनि भरिभराउ नै छन् ।

संक्रमण दर घटेसँगै अस्पतालमा बिरामीको चाप पनि कम हुन थालेको छ । पछिल्लो पटक कोरोनासंग मिल्दोजुल्दो लक्षण भएर परीक्षणका लागि आउने बिरामीको संख्या घट्दै गएको अस्पतालहरुले जनाएका छन् । अस्पतालमा बेड नहुँदा कुरेर बस्नु पर्ने अबस्था हटेको छ । इमरजेन्सी वार्डका बेड पनि खाली हुन थालेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरको सुरुमै बाँके हट स्पट बनेको थियो । बाँकेमा वैशाख १ यता १२ हजार २ सय भन्दा बढी संक्रमित भएका छन् । ती मध्ये ११ हजार ३ सय ५५ जना निको भएका छन् । २ सय ३८ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अझै पनि ६ सय १३ जनाको उपचार भइरहेको छ । पछिल्लो पटक संक्रमण घटेपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले पनि राहतको सास फेरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *