Main News

प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरुद्धको खोप उपलव्ध गराउन बेलायती समकक्षीसमक्ष आग्रह

हिमालय टिभी
२०७८ जेठ २२ गते ७:४२
प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरुद्धको खोप उपलव्ध गराउन बेलायती समकक्षीसमक्ष आग्रह

२२ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कोभिड–१९ महामारीविरुद्ध खोप सहायता उपलब्ध गराउन बेलायती समकक्षी बोरिस जोन्सनलाई आग्रह गर्नुभएको छ ।

बीबीसी विश्व सेवालाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले बेलायतका लागि गोर्खाली सैनिकले गरेको योगदानको महत्व बुझेर पनि बेलायतले नेपाललाई खोप प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

बेलायतसँग सदियौं पुरानो सम्बन्ध रहिआएकाले बेलायतले नेपाललाई सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । नेपाल बेलायतको पुरानो मित्र भएको नाताले पनि आफूले सीधै आग्रह गरेको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।

आफ्नो ज्यानलाई जोखिममा राख्दै गोर्खालीले बेलायतको सेवा गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपद्मा परेका नेपालीलाई बेलायतले सहायता दिने आशा व्यक्त गर्नुभयो ।

बीबीसीका अनुसार बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्स संयन्त्रलाई ५४८ मिलियन पाउन्ड सहयोग गरेको र नेपालले त्यहीअन्तर्गत खोप सहायता प्राप्त गर्ने बताएका छन् ।

यो वर्षभित्र नेपालले खोप प्राप्त गर्ने बेलायती विदेश मन्त्रालयका प्रवक्ताको भनाई छ । प्रधानमन्त्री ओलीले बेलायती विदेशमन्त्री डोमिनिक रावसँग नेपालका समकक्षीले कुराकानी गरेको र आफूले प्रधानमन्त्री जोन्सनसँग सीधा सम्पर्क स्थापित गर्न खोजेको बताएको पनि बीबीसीले उल्लेख गरेको छ ।

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्धितीयालाई पत्राचार गर्दै खोप आपूर्तिका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *