विदेश

इजरायलमा नयाँ सरकार बनाउने विपक्षी दलहरुबीच सहमति

हिमालय टिभी
२०७८ जेठ २० गते ८:०३
इजरायलमा नयाँ सरकार बनाउने विपक्षी दलहरुबीच सहमति

२० जेठ २०७८ इजरायल । इजरायलमा विपक्षी दलहरूबीच नयाँ सरकार बनाउने सम्झौता भएको छ ।

विपक्षी दलहरूबीच बेञ्जामिन नेतन्याहूको प्रधानमन्त्रीको १२ वर्षको कार्यकाल समाप्त गर्ने गरी नयाँ सरकार गठनको सम्झौता जुटेको हो । नयाँ सरकारका लागि मध्यमार्गी पार्टी यश अतिडका नेता याइर लापिडले आठ दलबीच गठबन्धन बनेको घोषणा गरे ।

जारी वक्तव्य अनुसार सहमतिबारे राष्ट्रपति रेउभिन रिभ्लिनलाई जानकारी गराइएको उल्लेख छ। त्यस्तै नयाँ सरकारले सबै इजरायली नागरिकको हितमा काम गर्ने पनि उनले बताए । नयाँ सरकारले विपक्षीलाई पनि सम्मान गर्ने उनको जोड छ ।

लापिड, बेनेट र अरब इस्लामिष्ट राम पार्टीका नेता मन्सुर अब्बासले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

अब रोलक्रम अनुसार प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने सहमति अनुरुप पहिले दक्षिपन्थी पार्टीहरुको गठबन्धन यामिनाका नेता नाफ्ताली बेनेटको नेतृत्वमा सरकार गठन हुनेछ ।

उनी सन् २ हजार २३ को अगष्ट महिनासम्म प्रधानमन्त्री रहने छन् । बेनेट न्यू राइट पार्टीका नेता हुन् । त्यसपछि लापिड प्रधानमन्त्री बन्ने छन् । तर गठबन्धनमा सहमति बने पनि नयाँ सरकारले शपथ लिनका लागि संसदमा मत लिनुपर्ने प्रावधान छ ।

यससँगै नेतन्याहूको नेतृत्व इजरायलमा अन्त्य हुने सम्भावना बढेको छ । नेतन्याहू इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री रहने व्यक्ति हुन् ।

उता प्रधानमन्त्री नेतन्याहूले भने सहमतिको सरकार बनाउने नयाँ प्रयासले इजरायललाई कमजोर बनाउने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *