Main News

संसदीय व्यवस्था नै असफल भएकाले पछिल्लो राजनीतिक संकट : विप्लव

हिमालय टिभी
२०७८ जेठ १९ गते १८:५१
संसदीय व्यवस्था नै असफल भएकाले पछिल्लो राजनीतिक संकट : विप्लव

१९ जेठ २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था नै असफल भएकाले पछिल्लो राजनीतिक संकट उत्पन्न भएको बताउनुभएको छ ।

हिमालय टेलिभिजनसित कुरा गर्दै महासचिव विप्लवले व्यवस्था नै असफल भएकाले पात्र फेरिएर मात्रै समस्या समाधान नहुने दावी गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीका ठाउँमा शेरबहादुर देउवा आएपनि समस्या समाधान नहुने भन्दै विप्लवले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भनेर जनमत संग्रह हुनुपर्ने माग गर्नुभयो ।

पूर्व राजा र राजावादीले समेत अहिलेको व्यवस्था र नेताभन्दा हामी ठीक भनेर आउने अवस्था उत्पन्न भएको भन्दै विप्लवले संसदवादी दल सत्तामा बस्नै नमिल्ने जिकिर गर्नुभयो ।

शान्तिपूर्ण राजनीतिमा आएको भनिए पनि विप्लवले परिस्थिति अनुसार फेरि हिंसात्मक संघर्ष हुन सक्ने बताउनुभयो । तपाइँ अहिले हिंसात्मक संघर्षबाट बाहिर हो कि होइन ? भन्ने प्रश्नमा उहाँले अहिले पूर्ण रुपमा बाहिर भए पनि आइपरे संघर्षका सबै रुप अपनाउन तयार रहेको बताउनुभयो ।

आफूहरु अहिले आफ्ना विचार शान्तिपूर्ण रुपमा राख्न आएको भन्दै विप्लवले अहिलेको व्यवस्था स्वीकार गरेको अर्थमा नबुझ्न चेतावनी दिनुभयो । विप्लवसँगको विस्तृत कुराकानी कार्यक्रम यक्ष प्रश्नमा अहिले बेलुकी नौ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *