काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी

१९ जेठ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाएर कम्तिमा एक हप्ता लम्ब्याउने तयारी गरिएको छ ।
मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकमा जारी निषेधाज्ञाका कारण कोरोना संक्रमणदर कम हुँदै गएकाले केही खुकुलो बनाउनेबारे छलफल भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा एक हप्ता वा यो महिनाभर लम्ब्याउने बारे छलफल भए पनि निर्णयमा पुगिनसकिएको बताउनुभयो ।
उहाँले आज दिउँसो बैठक बसेर यसबारे निर्णय गर्ने बताउनुभयो । केही क्षेत्रलाई सहज बनाउन आंशिक रुपमा खुला गर्ने तयारी पनि भएको पराजुलीले बताउनुभयो ।
खाद्यान्न, किराना पसल, खाद्यान्न मात्र बिक्री गर्ने डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने प्रशासनको तयारी छ । यसअघि खाद्यान्न पसल पनि खोल्न नदिएको भन्दै आलोचना भएको थियो ।
निर्माणस्थलमै आवासीय रुपमा कामदार राखेर निर्माणका काम अघि बढाउनेबारे समेत छलफल भएको छ । गत बैशाख १६ देखि काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो ।
प्रतिक्रिया