Main News

अस्पतालमा अक्सिजन अभाव, बेड खाली तर विरामीले भर्ना पाएनन् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १९ गते ६:२१
अस्पतालमा अक्सिजन अभाव, बेड खाली तर विरामीले भर्ना पाएनन् (भिडियो रिपोर्टसहित)

१९ जेठ २०७८ विराटनगर । अक्सिजन अभावले विराटनगरमा सञ्चालित कोभिड अस्पतालका बेड खाली भए पनि बिरामीले भने उपचार पाउन छाडेका छन्। अस्पतालले अक्सिजन नभएको भन्दै संक्रमितलाई भर्ना लिन छाडेका छन् । समयमा उपचार नपाउँदा संक्रमितको ज्यान जोखिममा परेको छ।

पछिल्लो ३ दिनयता मोरङका दुई सरकारीसहित पाँच ठूला कोभिड अस्पतालमा अक्सिजन अभाव छ । जसका कारण अस्पतालले बिरामी लिन छाडेका छन् । अक्सिजनको सहज आपूर्ति नहुँदा अस्पतालमा उपचाररत बिरामीको ज्यानसमेत जोखिममा परेको छ ।

कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा हाल ७५ जना संक्रमितको उपचार भईरहेको छ । अक्सिज अभावका कारण ९६ शैयाको यो अस्पतालले थप बिरामी भर्ना लिन सकेको छैन । दैनिक ५ सय अक्सिजन सिलिण्डर खपत हुने गरेको अस्पतालमा अहिले किस्ता किस्तामा कम आपूर्ति भइरहेको छ ।

मोरङको बुढीगङ्गास्थित विराट मेडिकल कलेजद्वारा सञ्चालित २ सय ९१ शैया क्षमताको कोभिड अस्पतालको अबस्था पनि उस्तै छ । अस्पतालमा अहिले १ सय ४ जना संक्रमित छन् । जसमा ६४ जनाको आई।सि।यु। मा उपचार भईरहेको छ ।

तर १ सय ८७ भन्दा बढी बेड खाली हुँदा पनि अक्सिजन अभावका कारण अस्पतालले थप बिरामी भर्ना लिन सकेको छैन । अस्पतालमा दैनिक ८ सय ५० सिलिण्डर अक्सिजन आवश्यक पर्ने भए पनि अहिले आधा मात्रै आपूर्ति भइरहेको छ ।

कोरोना संक्रमितको निःशूल्क उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता गरेको नोबेल मेडिकल कलेजले पनि अक्सिजन अभाव झेलिरहेको छ । यहाँ २ सय २० बेड भए पनि अहिले १ सय ५५ जनाको मात्रै उपचार भइरहेको छ ।

पछिल्लो समय अक्सिजन अभाव भएपछि बिराटनगरमा सञ्चालित सबै कोभिड अस्पतालले नयाँ बिरामी भर्ना गर्न छाडेका छन् । प्रदेश १ को मोरङमा मारुती र हिमाल तथा सुनसरीमा विनायक, पाथिभरा र दुर्गा उद्योगले अक्सिजन उत्पादन गरिरहेका छन् । अस्पतालमा संक्रमितको संख्यासँगै अक्सिजनको माग बढेपछि धान्न समस्या भईरहेको उद्योगको भनाइ छ ।

मोरङ र सुनसरीमा रहेका पाँच उद्योगले अन्य प्रदेशमा पनि अक्सिजन सप्लाई गर्दै आएका कारण पनि आपूर्तिमा समस्या हुने गरेको छ । पछिल्लो पटक अन्यत्र नयाँ संक्रमितको संख्या कम भए पनि प्रदेश एक मा भने घटेको छैन । जसका कारण नयाँ विरामीको संख्या पनि बढिरहेको छ । अक्सिजन अभावमा अस्पतालमा भर्ना हुन नपाउँदा विरामी उपचारबाट बन्चित भइरहेका छन् ।

 

भिडियो हेर्न यो लिङुकमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *