Main News

उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य संस्थाहरुलाई सरकारको निर्देशन

हिमालय टिभी
२०७८ जेठ १८ गते १८:५६
उपचार शुल्क सार्वजनिक गर्न स्वास्थ्य संस्थाहरुलाई सरकारको निर्देशन

१८ जेठ २०७८ काठमाडौं । सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्राप्त हुने सेवाको प्रकार, लागत रकमको शीर्षकसहितको मूल्यसूची आफ्नो वेभसाइट तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले आज एक सूचना जारी गर्दै सबै सरकारी, निजी, तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र मूल्य सूची वेभसाइट तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो।

विवरण वेभसाइट तथा सूचना पाटीमा राखी सो जानकारी स्वास्थ्य संस्था इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउनसमेत मन्त्रालयले अनुरोध गरेको छ।

कोरोना महामारीको विषम परिस्थितिमा समेत कतिपय स्वास्थ्य संस्थाले बिरामीको उपचारवापत चर्को शुल्क असुल उपर गरेको, बिरामीका लागि अत्यावश्यक अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक व्ययभार बढाएको, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको वन्दोवस्त गर्न बिरामी आफैंलाई लगाउने गरेको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य समग्री खरिद गर्न लगाएको गुनासो प्रधानमन्त्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकार र स्वास्थ्य मन्त्रालयमा समेत आएको जनाइएको छ।

बिरामीहरुले बढी गुनासो गरेपछि स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई उपचार सेवा तथा शुल्कको विवरण वेभसाइट तथा सूचना पाटीमा राख्न निर्देशन दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *