यो वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्याङ्ककै आधारमा हुने

हिमालय टिभी
२०७८ जेठ १८ गते ७:३५
यो वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्याङ्ककै आधारमा हुने

१८ जेठ २०७८ काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो ।

यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ ।

विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । यसअघि शिक्षा मन्त्रालयको बैठकले गएको वर्ष जस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।

गएको वर्ष विद्यालयको प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्रो त्रैमासिक अवधिको ६० प्रतिशत अङ्कका आधारमा मूल्याङ्कन गरेको थियो।

यस वर्ष पनि कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिने अवस्था भएपछि सरकारले गएको वर्षकै विधि अपनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *