Main News

संवैधानिक इजलासबारे न्यायाधीशबीच नै मत बाझियो, हुन सकेन कुनै आदेश

हिमालय टिभी
२०७८ जेठ १७ गते १८:५२
संवैधानिक इजलासबारे न्यायाधीशबीच नै मत बाझियो, हुन सकेन कुनै आदेश

१७ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सुनुवाइ गर्न बनेको संवैधानिक इजलासबारे न्यायाधीशहरुबीच नै मत बाझिएको छ । इजलाससम्बन्धी विवाद टुंगो नलागेपछि आज कुनै आदेश जारी हुन सकेन ।

इजालासमा रहेका दुई न्यायाधीश हट्नुपर्ने विपक्षी कानून व्यवसायीको दबाबपछि आन्तरिक छलफल भए पनि इजलासमै एक मत हुन सकेन । नैतिकताको प्रश्न उठाइएका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछोड्ने अडान राख्नुभएको छ । तर दीपककुमार कार्की र डाक्टर आनन्दमोहन भट्टराईले प्रश्न उठेपछि इजलाश छोड्नु मनासीब हुने राय दिएको सर्वोच्च स्रोतले जनाएको छ ।

यसबारे संवैधानिक इजलासमा रहेका न्यायाधीशसँग प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संयुक्त र न्यायाधीशहरूबीच बेग्लाबेग्लै छलफल गरेपनि टुंगो लाग्न सकेन । अब भोलि नै संवैधानिक इजलासमै यसबारे आदेश सुनाइनेछ ।

विपक्षीले इजलासमा बस्न नमिल्ने भनेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू कुनै वकिलले भनेका भरमा इजलासबाट बाहिर नजाने अडान लिनुभएको छ । र, यसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पनि सहमति रहेको बताइएको छ ।

प्रधानन्यायाधीश जबरा कसैले प्रश्न उठाएका भरमा न्यायाधीश इजलासबाट हट्न थाले गलत परम्परा बस्ने भन्दै त्यस्तो हुन नदिने निकटस्थलाई भनेको पनि बताइएको छ ।

प्रधानन्यायाधीशको यस्तो विचारपछि अरु वरिष्ठ न्यायाधीशले पनि छलफल गरेका छन् । अदालतप्रति अनास्था चुलिएर जाने अवस्थामा सबै निर्णय मान्नैपर्ने बाध्यता नहुने उनीहरुको तर्क छ ।

बमकुमार श्रेष्ठ एमाले र माओवादी केन्द्र ब्यूँतिने गरी नेकपाको एकता भंग गर्ने फैसला गरेका कारण र तेजबहादुर केसी त्यो फैसला पुनरावलोकन नहुने आदेश दिएका कारण इजलासमा बस्न नमिल्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *