Main News

संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठ र केसीलाई राखिएकोमा आपत्ति

हिमालय टिभी
२०७८ जेठ १६ गते १३:४०
संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठ र केसीलाई राखिएकोमा आपत्ति

१६ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको दोस्रो दिनको सुनुवाइमा संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीमाथि प्रश्न उठाइएको छ ।

कानून व्यवसायीहरुले न्यायाधीश श्रेष्ठ र केसीलाइ इजलाशमा राखिएको विषयमा प्रश्न उठाएका हुन् ।यो विषयलाई लिएर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र कानून व्यवसायीबीच घोचपेच समेत भएको छ ।

अधिवक्ता गोविन्द बन्दीले न्यायाधीश श्रेष्ठलाई इजलाशमा राख्न नमिल्ने जिकिर गर्नुभएको छ । नामको विषयमा आएको मुद्दामा तत्कालीन नेकपाको एकता नै बदर गर्ने न्यायाधीश श्रेष्ठको फैसलाले राजनीति अर्कै दिशामा गएको भन्दै अधिवक्ता बन्दीले न्यायाधीश श्रेष्ठलाई ईजलाशमा राख्न नहुने बताउनुभयो ।

श्रेष्ठ र कुमार रेग्मीको इजलाशले नेकपाको एकता बदर गर्दै एमाले र माओवादी केन्द्र ब्यूँतिने फैसला गरेको थियो ।

यस्तै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले अघिल्लोपटक संसद् विघटनसम्बन्धी मुद्दामा सहभागी न्यायाधीश तेजबहादुर केसीको पुनः सहभागितामा प्रश्न उठाउनुभएको छ । अघिल्लो पटक एकमतका साथ सर्वोच्चले संसद पूनस्थापना गरे पनि केसी विघटनका पक्षमा रहेको चर्चा चल्दै आएको छ ।

अघिल्लो पटकको इजलाशका केसीलाई मात्रै प्रधानन्यायाधीशले दोहोर्याउनुभएको छ । न्यायाधीश श्रेष्ठ र केसीका बारेमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले फैसलाका लागि आधारमा न्यायाधीशलाई सही वा गलत भन्न नपाइने बताउनुभयो ।

बहसकै क्रममा झोक्किएका प्रधानन्यायाधीश जबराले आफ्नो पनि विकल्प दिन भनेपछि वरिष्ठ अधिवक्ता शम्भु थापाले ‘विदा बस्नुस्’ भनेर जवाफ दिनुभएको थियो ।

अहिले इजलाश गठनकै विषयमा कानून व्यवसायीहरुले छलफल गरिरहेका छन् । न्यायाधीश केसी र श्रेष्ठ प्रधानन्यायाधीश जबराका विश्वास पात्र मानिनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *