Main News

संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

हिमालय टिभी
२०७८ जेठ १६ गते ७:५४
संसद विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

१६ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आज पनि हुने भएको छ। शुक्रबारदेखि संवैधानिक इजलासमा शुरु भएको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा आजका लागि राखिएको हो।

शुक्रबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गरी बहस शुरु भएको थियो।

मुद्दाको सुनुवाइ गर्न प्रधानन्यायाधीश राणाले गठन गरेको संवैधानिक इजलाशमा नै प्रश्न उठेको छ। सुनुवाइकै क्रममा इजलाशमसथि कानून व्यवसायीले प्रश्न उठाएका हुन्। इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठका विषयमा प्रश्न उठेको छ।

इजलास गठनमा बाहिर वरिष्ठताको विषयमा केही चर्चा चलेपनि इजलासभित्र न्यायाधीश श्रेष्ठका विषयमा कानून व्यवसायीले प्रश्न उठाए, खासगरी पुरानो फैसलाका कारण न्यायाधीश श्रेष्ठ विवादमा तानिनुभयो ।

श्रेष्ठ त्यही न्यायाधीश हुनुहुन्छ, जसले २०७७ साल फागुन २३ गते अर्का न्यायाधीश कुमार रेग्मीसँग मिलेर तत्कालीन नेकपाको एकता भंग हुने तथा एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किने फैसला गर्नु भएको थियो ।

गत पुस ५ गतेको संसद विघटनविरुद्ध परेको रिटहरुको सुनुवाइका क्रममा पनि न्यायाधीश हरिकृष्ण कार्कीमाथि प्रश्न उठेपछि कार्की इजलास छाड्न बाध्य हुनुभएको थियो ।

कानूनविद्हरुले कार्कीका विषयमा जस्तै यसपटक पनि न्यायाधीश श्रेष्ठलाई निस्कन बाध्य पार्ने योजना बनाएको बुझिएको छ। निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद् पुनःस्थापन गर्नुपर्ने पक्षमा छन्। १४६ निवर्तमान सांसदले प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *