हतियारधारी समूहद्वारा प्रहरी चौकीमाथि आक्रमण
१४ जेठ २०७८ धरान । जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै सुनसरीको धरान प्रहरी चौकीमा प्रवेश गरेका दर्जनभन्दा बढी हतियारधारी युवाको समूहले प्रहरीमाथि नै आक्रमण गरेको छ ।
अनुहार छोपिने गरी मास्क लगाएर ६ वटा मोटरसाइकलमा आएका युवाको समूहले धरान १५ बाझगरस्थित वडा समिति कार्यालयको अगाडि रहेको प्रहरी चौकीमा आक्रमण गर्दा चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल घाइते भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो ।
आफूलाई धम्की आएपछि धरान ३ बस्ने प्रशन्न लिम्बू जाहेरी दिनका लागि प्रहरी चौकी जानु भएको थियो । त्यही बेला हतियारधारी समूह चौकी पुगेको थियो । लिम्बुलाई हतियारधारीहरुबाट बचाउन खोज्दा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।
असई दाहालको हातमा गहिरो चोट लागेको छ । उहाँको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । आक्रमणकारीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया