Main News

संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ हुँदै

हिमालय टिभी
२०७८ जेठ १४ गते ८:१६
संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइ हुँदै

१४ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिटको सुनुवाइ आजदेखि संवैधानिक इजलासमा हुने भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटन गलत भएको भन्दै दायर भएका २६ वटा र प्रधानमन्त्री ओलीलाई नै निरन्तरता दिनुपर्ने माग गर्दै दायर भएका ४ वटा गरी ३० वटा रिटको सुनुवाइ संवैधानिक इजलासमा नै हुने भएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध १९ वटा रिटमा हिजो सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन्। ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् ।

अब सबै ३० वटाको सुनुवाई संवैधानिक इजलासमा हुने हो। आज संवैधानिक इजलास गठन गरेर ती रिटको सुनुवाइ सुरु हुनेछ । हिजो रिट निवेदक तर्फका कानून व्यवसायीले संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि ११ जनाभन्दा धेरै न्यायाधीशको बृहत् पूर्ण इजलास गठन गर्न माग गरेका थिए।

यस्तै कानून व्यवसायीले चुनाव घोषणा गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशको पनि माग गरेका थिए। तर प्रधानन्यायाधीशको एकल इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय भएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो।

अघिल्लो विघटन भन्दा यसपटक सर्वोच्च अदालतमा दोब्बर बढी निवेदन परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *