Main News

आगामी तीन दिन बाढीपहिरोको उच्च जोखिम, बस्ती सुरक्षित स्थानमा सार्न आग्रह

हिमालय टिभी
२०७८ जेठ १३ गते ८:१०
आगामी तीन दिन बाढीपहिरोको उच्च जोखिम, बस्ती सुरक्षित स्थानमा सार्न आग्रह

१३ जेठ २०७८ काठमाडौं । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण आजदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको बताएको छ ।

प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ । कर्णाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आँकलन गरिएको छ ।

प्राधिकरणका अनुसार प्रदेश १, २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ भने गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।

प्राधिकरणले हिजो प्रेस नोट जारी गर्दै विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।

त्यस्तै, आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ । सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ । ती प्रदेशका तराइमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ ।

कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जनसहित चट्याङ पर्ने र मध्यम वर्षाको सम्भावना छ । गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *