कोरोना संक्रमणबाट थप १४५ जनाको मृत्यु, ६ हजार ७ सय १४ संक्रमित थपिए (भिडियो रिपोर्टसहित)

१२ जेठ २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमण घट्न थालेको छ । संक्रमणमुक्त हुनेको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । पछिल्लो पटक २६ दिन यताकै कम संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।
यो संख्या बैसाख १८ गतेयताकै कम हो । १९ हजार ३० जनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६ सय ७७ र ३ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा ३७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जनकारी दिनु भयो ।
संक्रमण घटे पनि मृत्यु हुनेको संख्या भने अझै धेरै छ । पछिल्लो पटक थप १ सय ४५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ ।
काठमाडौं उपत्यकामा नयाँ संक्रमितको संख्या ह्वात्तै घटेको छ । उपत्यकाका तीन जिल्लामा १४ सय ९३ जना मात्रै संक्रमित थपिएका छन् । काठमाडौँमा ११ सय ३९, ललितपुरमा २ सय ४१ र भक्तपुरमा १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक ६ हजार ७ सय १६ जना संक्रमणमुक्त भएका छन् । कोरोनाको दोस्रो लहर शुरु भएयता नयाँ संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी भएको पहिलो पटक हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ जना छन् । ति मध्ये १ लाख ८ हजार ६ सय २० जना होम आइशोलेशनमा छन् ।
देशभरका अस्पतालमा १६ सय ७१ जनाको आइसीयू र ४ सय ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया