Political Hightlights

जसपाको आन्तरिक विवाद उत्कर्षमा, एकले अर्कोलाई स्पष्टिकरण सोध्ने होड

हिमालय टिभी
२०७८ जेठ १२ गते ७:३०
जसपाको आन्तरिक विवाद उत्कर्षमा, एकले अर्कोलाई स्पष्टिकरण सोध्ने होड

१२ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो समय एकले अर्कोलाई स्पष्टिकरण सोध्ने होड चलेको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षले आफूहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको ५ दिनपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले यादव पक्षलाई उल्टै स्पष्टिकरण सोधेको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबाट स्पष्ट दुई कित्तामा उभिएको जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीतका काम गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधिएको हो ।

७ बुँदे स्पष्टिकरणमा लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई निष्काशन गरेको, विपक्षी कांग्रेस र माओवादीसँग मिलेर सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाको माग गर्दै रिट दायर गर्न गएको जस्ता विषयमा प्रश्न सोधिएको छ ।

जेठ ८ र ९ गते निर्धारण गरिएको बैठक महन्थ पक्षले जेठ ७ मा स्थगित भएको सूचना जारी गरेको थियो । तर त्यही दिन उपेन्द्र पक्षले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएर एकल अध्यक्षता गरी निर्णयहरुसमेत गरेको थियो ।

यो विषयमा पनि यादवसँग स्पष्टीकरण सोधिएको छ । पार्टीको विधानको दफा ४९ अनुसार अनुसासनको कारबाही सम्बन्धी व्यवस्था अनुसार सोधिएको उक्त स्पष्टिकरणको जवाफ ३ दिनभित्र पार्टी कार्यालयमा पठाउन भनिएको छ ।

यसअघि गत जेठ ७ गते बसेको यादव पक्षीय केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुरसहित पार्टीका चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार यादव–भट्टराई पक्षले अध्यक्ष महन्थ ठाकुर लगायत चार नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ।

पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने असंवैधानिक कदमलाई साथ दिएको भन्दै जसपाले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई ओलीका प्रतिगामी कदममा साथ दिनुको कारणबारे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिमा आफ्नो पक्षमा बहुमत रहेको यादव पक्षले दावी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्