११ जना नेतालाई एमालेबाट निष्काशन गर्ने ओलीको निर्णय अर्थहीनः नेपाल
११ जेठ २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूसहित ११ नेतालाई नेकपा एमालेबाट निष्काशन गर्ने निर्णय अर्थहीन भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारवाहीबारे प्रतिक्रिया दिनुभएको हो । अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको पनि नेपालले टिप्पणी गर्नुभएको छ ।
ओलीले आफूलाई बिचौलियाको पृष्ठपोषक बनाउँदै गएर निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि दलाल र माफियाले राज गरेको भन्दै नेपालले आफूहरुलाई गरिएको निष्काशन त्यसैको प्रतिरुप भएको तर्क गर्नुभएको छ । नेपालले कारवाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भन्नुभएको छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा राष्ट्रघाती र प्रतिगमनकारीको रुपमा सिंगो कम्युनिष्ट आन्दोलन विसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको नेपालको कडा आरोप छ ।
नेपालले व्यक्तिवादी सोच र स्वार्थ पूरा गर्नका लागि ओलीले सत्ताको चरम दुरूपयोग गरेको भन्दै कम्युनिस्ट सरकार रहेका बेला बिचौलिया, दलाल, माफिया र गुण्डाराज चलाउनेहरू उत्साहित हुने तर सर्वहारा जनता अपहेलित हुने अवस्था आएको पनि टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कोरोनालाई ठट्टाको विषय बनाएर जनतामाथि ठूलो अपराध गरेको भन्दै नेपालले आक्रोश व्यक्त गर्नुभएको छ ।
नेपाली जनता, निष्ठावान नेता कार्यकर्ता, लोकतन्त्र, संविधान र सिंगो कम्युनिष्ट आन्दोलनप्रति ओलीले ठूलो गद्धारी गरेकाले प्रतिरोधमा उत्रिने अवस्था बनेको भन्दै कानूनी, राजनीतिक तथा सडक आन्दोलनबाट ओली सरकारलाई हटाउनुपर्नेमा जोड दिनुभएको छ ।
यसलाई आफूहरुको दायित्व भन्दै नेपालले ओली सरकारको सर्वसत्तावाद र निरङ्कुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आम जनतालाई अपील गर्नुभएको छ ।
प्रतिक्रिया