विदेश

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनले कोरोनाको उत्पत्तिबारे बढायो आशंका

हिमालय टिभी
२०७८ जेठ १० गते १५:५८
अमेरिकी गुप्तचर निकायको प्रतिवेदनले कोरोनाको उत्पत्तिबारे बढायो आशंका

१० जेठ २०७८ न्युयोर्क । चीनको वुहानस्थित प्रयोगशालाबारे अमेरिकी गुप्तचर निकायको पछिल्लो प्रतिवेदनले कोरोना भाइरसको उत्पत्तिबारे थप आशंका बढाएको छ ।

प्रतिवेदनका अनुसार वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीका तीन अनुसन्धानकर्ता सन् २०१९ को नोभेम्बरमा बिरामी परेका थिए । विश्वमा कोरोना महामारी फैलिनुभन्दा करिब एक महिनाअघि कोरोना भाइरस र मौसमी फ्लूसँग मिल्दोजुल्दो लक्षणसहित उनीहरु बिरामी परेपछि अस्पतालको सहायता मागिएको प्रतिवेदनलाई उदृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

प्रतिवेदनमा वुहान प्रयोगशालामा बिरामी परेका अनुसन्धानकर्ताको संख्या, बिरामी भएको समय र बिरामीलाई अस्पताल लगिएकोबारे विस्तृत जानकारी समेटिएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस वुहानको प्रयोगशालाबाट चुहावट भएको बताउँदै यसलाई चिनियाँ भाइरस र वुहान भाइरस भएको बताउँदै आएका थिए ।

उता विश्व स्वास्थ्य संगठनको पहलमा स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको प्रारम्भिक अध्ययन नतिजामा भाइरस प्रयोगशालामा विकसित वा चुहावट भएको भन्ने दाबीमा सत्यता नरहेको उल्लेख छ।

तर थप स्पष्ट हुन विस्तारित अध्ययनको खाँचो रहेको डब्लुएचओले बताउँदै आएको छ । डब्लुएचओले भाइरसको उत्पतिबारे वुहान पुगेर पहिलो चरणको अनुसन्धान गरिसकेको छ भने अर्को अध्ययन क्षेत्रबारे तयारी पूरा गरिसकेको छ ।

यसै सन्दर्भमा डब्लुएचओको बैठक पनि बस्दैछ । त्यसको एक दिन अघि गुप्तचर निकायको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनपछि भाइरस चुहावट भएको हुन सक्ने केही राष्ट्र तथा पक्षको दाबीबारे सघन अध्ययनका लागि दबाव बढेको छ ।

हालसम्मको अध्ययन तथा प्रमाणबाट भाइरस चीनको वुहानस्थित समुद्रीक जीवको मासु बजारबाट मानिसमा सरेको देखिएको छ। अमेरिकी विशेषज्ञ एन्थोनी फाउचीले भने कोरोना एक प्राकृतिक रोग भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *