आज आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान

१० जेठ २०७८ काठमाडौं । देशका अधिकांश क्षेत्रमा आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा केही प्रभाव पर्ने देखिएको हो । अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आज आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी क्षेत्रका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १, बागमती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आज बेलुकासम्ममा यास चक्रवातमा परिणत भई भोलिसम्ममा अति धेरै शक्तिशाली चक्रवात बन्ने देखिएको मौसमविदले बताएका छन् ।
चक्रवातको केही असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।सो प्रणालीका कारण भोलि अपरान्हपछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ ।
यसले गर्दा उच्च हिमाली भू–भागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबारदेखि केहि दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन मौसमविदले आग्रह गरेका छन् ।
प्रतिक्रिया