राष्ट्रपतिको आव्हानविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट पेश
७ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नै नदिई नयाँ सरकारको विकल्प दिन राष्ट्रपतिले गरेको आह्वानविरुद्ध सर्वोच्च अदालतमा अहिलेसम्म ६ वटा रिट पेश भएका छन् ।
अधिवक्ता सन्तोष भण्डारी, रामबहादुर शाही, शैलेन्द्र अम्बेडकर, वीरभद्र जोशी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च अदालत पुग्नुभएको छ । सबै अधिवक्ताको रिट दर्ताको तयारी भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्मको समय दिएर दलहरुलाई वर्तमान सरकारको विकल्प दिन आह्वान गर्नुभएको छ ।
नयाँ सरकार गठनका लागि त प्रधानमन्त्रीले राजीनामा पत्र दिनुपर्छ नभए संसदबाट विश्वासको मत गुमाएको हुनुपर्छ, प्रधानमन्त्रीको पद रिक्त नभई नयाँ सरकार गठनको आह्वान हुन नसक्ने रिट निवेदकहरुको दावी छ ।
उनीहरुले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त भएका ओलीले विश्वासको मत लिने प्रक्रिया शुरू नगरी वा राजीनामा नदिई संविधानको धारा ७६ को उपाधार ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्नुलाई असंवैधानिक कदम भनेका छन् ।
प्रतिक्रिया