Political Hightlights

जसपा विवाद : दुई अध्यक्षको सहमति दुई घन्टामै कसरी भाँडियो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ५ गते ६:३७
जसपा विवाद : दुई अध्यक्षको सहमति दुई घन्टामै कसरी भाँडियो ? (भिडियो रिपोर्टसहित)

५ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टीमा नाटकीय गतिविधि देखियो । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टी एकता बनाउने र सरकारमा नजाने सहमति भएको केही घण्टामै सहमति भाँडियो । र, विवाद छताछुल्ला भयो । यसले जसपामा एकता सहज छैन भन्ने प्रष्ट भएको छ ।

सोमबारसम्म आ–आप्ना अडानमा कायम रहेका र मिल्ने होइन, फुट्ने दिशामा उन्मुख भएका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवबीच नाटकीय ढंगले सहमति भयो । र, संयुक्त प्रेस विज्ञप्तिनै जारी भयो ।

पार्टीलाई एकतावद्ध बनाउन, ओली सरकारमा नजान र विश्वासको मत नदिन दुवै अध्यक्ष सहमत भए । त्यति मात्रै होईन, राष्ट्रिय सहमतिको सरकार भए जाने अन्यथा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति पनि भयो । दुई अध्यक्षको विज्ञप्ति आएपछि नेता कार्यकर्तामा उत्साह देखियो । पार्टी एकता बचेकोमा सामाजिक संजालमा खुशी पनि व्यक्त गरियो ।

किनकी दुई अध्यक्षबीच विधान अनुसार अघि बढ्ने, स्वार्थ सिद्धिका लागि पार्टीलाई प्रयोग गर्न नदिने सहमति पनि भएको थियो । सहमति अनुसार नै दुवै अध्यक्षले जेठ ८ र ९ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाए ।

तर दुई अध्यक्षबीचको सहमति दुई घण्टा पनि टिकेन । एकाएक अध्यक्ष महन्थ ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको जानकारी संसद सचिवालयलाई गराउनुभयो । र, त्यो पत्र सार्वजनिक समेत भयो ।

वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले दलको नेतामा महतोलाई निर्वाचित गरेको पत्रमा लेखिएको छ । बताईए अनुसार दोस्रो तहका केही नेताले संसद सचिवालयमा गएर मंगलवार दिउँसो पत्र दर्ता गराएका थिए । जुन अध्यक्ष उपेन्द्र यादवसित अर्का अध्यक्ष महन्थ ठाकुरले सहमतिको विज्ञप्ति सार्वजनिक गरेको केही घण्टापछिको कुरा थियो ।

एकाएक ठाकुरले महतोलाई दलको नेता बनाएको पत्र दर्ता गरेपछि अध्यक्ष उपेन्द्र यादव समूह तरंगित भयो । र, पार्टीमा फूट चाहने तत्वले खेलेको भन्दै आक्रोश व्यक्त गर्यो । त्यसपछि अध्यक्ष उपेन्द्र यादव आफै मैदानमा उत्रिनुभयो । जसरी अर्का अध्यक्ष ठाकुरले महतोलाई दलको नेता चयन गरेको पत्र संसद सचिवालयमा पठाउनुभएको थियो ।

त्यसै गरी यादवले महतोलाई दलको नेता चयन नगरिएको र कसैले त्यस्तो पत्र पठाएको भए मान्यता नदिन आग्रह सहित संसद सचिवालयमा पत्र पठाउनुभयो । पत्रमा कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म त्यस्तो नभएको समेत यादवले जानकारी गराउनुभएको छ ।

र, यसले जसपामा विवाद फेरि चर्किएको मात्रै होइन, एकता सहज छैन भन्ने देखाएको छ । किनकी दुई अध्यक्षबीच भएको संयुक्त सहमति दलको नेताको विषयलाई लिएर सहजै भंग भएको अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्