Political Hightlights

जसपामा अध्यक्ष यादव र ठाकुरबीचको सहमति भाँडियो, महतो संसदीय दलको नेता

हिमालय टिभी
२०७८ जेठ ४ गते १६:५३
जसपामा अध्यक्ष यादव र ठाकुरबीचको सहमति भाँडियो, महतो संसदीय दलको नेता

४ जेठ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति केही घण्टामै भाँडिएको छ ।

ठाकुर र यादवबीच आज राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाउने निर्णय फिर्ता लिने सहमति भएको थियो । तर सहमतिमा संयुक्त वक्तव्य दिएको केही घण्टामै ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद् सचिवालयमा पठाउनुभएको छ ।

संसद् सचिवालयमा दर्ता भएको पत्रमा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर छ । वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले दलको नेतामा महतोलाई निर्वाचित गरेको पत्रमा लेखिएको छ ।

संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको दावी गरिएको छ । संसदीय दलको नेतामा एकपक्षीय ढंगले महतोलाई निर्वाचित गरिएको भन्दै अध्यक्ष उपेन्द्र यादव पक्षले विरोध गर्दै आएको छ । र, आज महतोलाई नेता बनाएको भनेर पत्र पठाइएकोमा पनि यादव पक्षले विरोध गरेको छ ।

अर्का अध्यक्ष उपेन्द्र यादवले संसद सचिवालयमा काउन्टरपत्र पठाउनुभएको छ । हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको यादवले उल्लेख गर्नुभएको छ ।

कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म त्यस्तो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराउनुभएको छ । कसैले दलको नेता चयन भएको जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिन पनि यादवले माग गर्नुभएको छ ।

यादव पक्षका कार्यकारिणी समिति सदस्य एवं सांसदले मोहम्मद इस्तियाक राईले अवैधानिक नियुक्तिको कुनै अर्थ नभएको र सहमति र एकता भाँड्ने कुकर्म भन्नुभएको छ ।

यसमा साथ दिने नेताहरु नाम पनि छिटै सार्वजनिक गर्ने राईले बताउनुभएको छ । महतोलाई दलको नेता बनाएको पत्र संसद सचिवालयमा पठाउनु अघि अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टी एकतावद्ध राख्ने, सरकार नजाने, ओली सरकारलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार बनाउने सहमति भएको थियो ।

र, ती विषय ठाकुर र यादवले संयुक्त विज्ञप्ति निकालेरै सार्वजनिक गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्