राजनीति

मदन-आश्रित स्मृति दिवसः ओली–नेपालबीच आरोप–प्रत्यारोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३ गते २०:४२
मदन-आश्रित स्मृति दिवसः ओली–नेपालबीच आरोप–प्रत्यारोप (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आरोप प्रत्यारोपमा उत्रिनुभएको छ । मदन आश्रितको स्मृति दिवसमा निकालेको वक्तव्यमा दुई नेताले एक अर्काको नामै नलिई काममाथि प्रश्न उठाउनुभएको छ । नेपालले ओली संविधान र पार्टी विधान विपरित चलेको आरोप दोहोर्याउनुभएको छ ।

ओलीमाथि नेपालको हमला
मदन आश्रित स्मृति दिवसमा दिवंगत नेतालाई सम्झिँदै वक्तव्य निकाले पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निशाना बनाउनुभएको छ । नेपालका अनुसार एमालेको आन्तरिक जीवन अहिले असाध्यै संगीन परिस्थितिमा छ र जनक्रान्तिको उपलब्धिको रक्षा गर्न सक्छौं कि सक्दैनौ भन्ने प्रश्न पनि छ ।

नामै नलिई वरिष्ठ नेता नेपालले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कारण समस्या आएको प्रष्ट सन्देश दिनुभएको छ । नेपालको प्रश्न छ–के हामी जनक्रान्तिका उपलब्धिको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण, राष्ट्रिय पूँजीको विकास र समाजवादमा पुग्ने सपना र प्रतिबद्धता अनुरुप अघि बढी रहेका छौँ ? नेपालले यो प्रश्न मार्फत सरकारका काममाथि हमला गर्नुभएको छ ।

अर्को प्रश्न मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादी मानेको वा नमानेको भन्नेछ । किनकी अहिले एमालेमा ओली र नेपालबीच आफू असली जबजको अनुयायी भन्ने जुहारी छ । तर नेपालले ओलीको दावी अस्वीकार गर्नुभएको छ । नेपालको प्रश्न छ –जनताको बहुदलीय जनवादले आफ्नो कार्यक्रममा १४ विशेषताको रुपमा अघि सारेको लोकतान्त्रिकरणको मूल्य– मान्यता स्वंयम् हामीले आत्मसात गरीरहेका छौं ?’ अर्थात ओली अलोकतान्त्रिक हुनुहुन्छ भन्ने नेपालको मत छ । त्यति मात्रै होइन नेपालका अनुसार अहंकार, गुटगत र पार्टी एकताविरोधी प्रवृत्ति समेत छ । यसको समाधान पनि नेपालले अगाडि सार्नुभएको छ । नेपाल भन्नुहुन्छ– देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिड्ने प्रण गरौं ।

ओलीको नेपालमाथि प्रत्याक्रमण
मदन आश्रित स्मृति दिवसका अवसरमा नेपालले आइतबार राति प्रेस वक्तव्य निकालेर आक्रमण गरेपछि एमाले अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओलीले स्मृति दिवसकै दिन सोमबार बिहान त्यसको जवाफ दिनुभयो । जसरी नेपालले नामै नलिई ओलीमाथि हमला गर्नुभएको थियो, ओलीले पनि त्यसै गरी नेपालमाथि प्रत्याक्रमण गर्नुभएको छ ।

ओलीले नेपालमाथि विभाजनकारी, अस्थिर र अवसरवादी भएको गम्भीर आरोप लगाउनुभएको छ । एमाले र माओवादी एकतासँग जोडेर ओलीले दिएको स्टेन्टमेन्ट प्रचण्ड लक्षित जस्तो अर्थ लगाउन मिल्ने भएपनि विगतमा वरिष्ठ नेता नेपालमाथि उहाँले गरेको सार्वजनिक टिप्पणीले यो नेपालमाथिको प्रत्याक्रमण भएको सहजै बुझ्न सकिन्छ । नेकपा एकता र विभाजनको प्रसंग जोडेर ओलीले वक्तव्यमा भन्नुभएको छ– कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन।’

त्यति मात्रै होइन, पार्टी एकताको लक्ष्या र उद्देश्यमाथि नै नेपाल लगायतका नेताले अवरोध गरेको ओलीको ठहर छ । ओलीका अनुसार कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक–आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने इमान्दार प्रयास गरिएको थियो । तर उहाँका अनुसार विभाजनकारी र अवसरवादीले दिएनन । पार्टी एकता टिकेन ।

वामदेव पनि आरोपमा उत्रिए
आरोप प्रत्यारोपको यो रेसमा वामदेव गौतम पनि उत्रिनुभएको छ ।

एमालेका उपाध्यक्ष गौतमको पहिले देखिनै दावी छ– मदन भण्डारी र बहुदलीय जनवादको असली अनुयायी मै हुँ । सोमबार वक्तव्य निकालेर पनि गौतमले त्यसलाई दोहोर्याउनुभएको छ । तर वक्तव्यमा अहिले पार्टी भित्रको समस्याबारे पनि बोल्नुभएको छ ।

मदन भण्डारी र जीवराज आश्रितकै नाममा पार्टी भित्र विखण्डन र विसर्जनवाद हावी हुन खोजेको गौतमको ठहर छ । गौतमले यो भनेर अध्यक्ष ओलीमाथि हमला गर्नुभएको छ । हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त नभए पार्टीमा एकता हुन नसक्ने गौतमको निष्कर्ष छ । त्यसैले जिम्मेवार नेतालाई यसबाट मुक्त हुन आग्रह गर्नुभएको छ । विखण्डन र आपसी द्वैषबाट मुक्त भई सहकार्यको दिशामा अग्रसर हुनु नै मदन र आश्रितको बाटोमा हिंडनु भनेर पनि ध्यानाकर्षण गर्नुभएको छ ।

विवाद मिलाउन कार्यदल बनेर काम नथाल्दै ओली र नेपालले एकअर्कामाथि गरेको आरोप प्रत्यारोपले एमाले भित्रको विवाद सहजै समाधान नहुने प्रष्ट गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्