Main News

अस्ताए गीतकार चेतन कार्की (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ ३ गते ६:२७
अस्ताए गीतकार चेतन कार्की (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आज बिहान निधन भएको हो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा सक्रिय कार्कीको ८३ वर्षको उमेरमा निधन भएको हो ।

मायाले मर्न दिँदैन भन्ने यो गीत लेख्ने चेतन कार्कीलाई अन्ततः श्रोता दर्शक र शुभचिन्तकको मायाले रोकेन । समाजले बाँच्न दिँदैन भने पनि उहाँलाई कोरोनाले बाँच्न दिएन ।

र आफूले गरेको यो सिर्जना आफ्ना श्रोता तथा दर्शकमाझ पुग्न नपाई गीतकार कार्की हामी माझबाट सदाका लागि विदा हुनु भएको छ ।

सार्वजनिक हुने तयारीमा रहेको यो गीत म्युजिक नेपालले उहाँको निधन लगत्तै सार्वजनिक गरेको छ ।

तीजको सदावहार भाका तिजको रहर आयो बरिलैसहित बैनीको माया छ भने लगायतका लोक भाकाका गीत रचेका कार्कीले गीतकारका रुपमा भन्दा पनि चलचित्रकर्मीका रुपमा धेरै काम गर्नुभयो ।

स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा १९९५ साल कात्तिक २२ गते जन्मिएका चेतन कार्की चलचित्रको पटकथा लेखेर नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

हिरासिंह खत्रीले बनाएको चलचित्र ‘परिवर्तन’ को पटकथा कार्कीको चलचित्रको पहिलो पाइला थियो । २०२८ सालमा तत्कालीन शाही चलचित्र संस्थानको स्थापना भएसँगै कार्कीले निर्माण अभिकृतको काम सम्हाल्नु भएको थियो । उहाँ अधिकृत हुँदा बनेका ‘मनको बाँध’ ‘कुमारी’, ‘सिन्दुर’, ‘जीवनरेखा’ आदि चलचित्र नेपालमा चर्चित छन् ।
विश्वास, भुँमरी, पहिलो प्रेम चलचित्र उहाँले निर्देशन गर्नुभयो।

भारतमा बसेर पढेका कारण उहाँ उर्दु र हिन्दीमा साहित्य रचनामा पनि लाग्नुभयो । विभिन्न सार्वजनिक समारोहमा कार्कीले उर्दुमा शायरी पस्केर मनोरञ्जन दिनुहुन्थ्यो ।

उहाँको हिन्दी कविता संग्रह ‘कल्पना टुट चुकी है’ पनि प्रकाशित छ ।

कार्की पछिल्लो समय भने आफूले लेखेका गीतको रेकर्डिङ्गमा लाग्नु भएको थियो । आफ्ना धेरै गीत नारायण वलीसँगको सहकार्यमा रेकर्ड गराउने र म्युजिक भिडियो बनाउने गरिरहनु भएको थियो । त्यस मध्येका केही गीत सार्वजनिक भए पनि अधिकांश गीत सार्वजनिक हुनै बाँकी छन् ।

सानो उमेरदेखि नै कलाकारितामा रुचि राख्ने कार्कीले लोकगीत र नाटकमा पनि काम गर्नुभएको छ । कार्कीका ‘आत्मा बेचेको छैन’ ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’, ‘हो देश मेरो पनि’ ‘बसिबियाँलो’ ‘माया–प्रीतिको चोखो कथा’ गीत संग्रह पनि प्रकाशित छन् । यसका अतिरिक्त उहाँका उपन्यास ‘हनिमून’, लघु उपन्यास ‘ढलेको गिलास’ पनि छ ।

गोर्खा दक्षिणबाहु, शुभराज्याभिषेक पदक, रजत महोत्सव पदकसँगै छिन्नलता पुरस्कार पाएका कला र संगीत क्षेत्रका एक चम्कीला तारा कार्कीलाई यो महामारीले सदका लागि हामीबाट चुँडेर लगेको छ । । भौतिक शरिर नरहेपनि सिजर्ना मार्फत कार्की सधैं नेपाली माझ ररिरहनुहुनेछ । दिवंगत कार्की प्रति हाम्रो पनि श्रद्धाञ्जली ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *