राजनीति

कसरी मिलाउन खोजिँदैछ एमालेको विवाद ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २ गते २०:५३
कसरी मिलाउन खोजिँदैछ एमालेको विवाद ? (भिडियो रिपोर्टसहित)

२ जेठ २०७८ काठमाडौं । नेकपा एमालेको विवाद मिलाउन १० सदस्यीय कार्यदल गठन भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्तापछि कार्यदल गठन भएको हो । पार्टी एउटै भएपनि कार्यदलमा ओली खेमाको नेतृत्व सुवासचन्द्र नेम्वाङ र नेपाल खनाल खेमाको नेतृत्व भीम रावलले गर्नुभएको छ । कार्यदलले पार्टीका संरचनालाई ०७५ साल जेठ २ गते कसरी फर्काउने भनेर उपाय खोज्नेछ ।

कार्यदलले टुंगो लगाउने विषय
१. जेठ २ मा फर्किने उपायको खोजी

एमालेभित्र अहिले खास विवाद पार्टीको संरचनाबारे छ । गत फागुन २३ गते अदालतले तत्कालीन नेकपा भंग गरेर पुरानै पार्टी ब्यूँताइदिएकाले सबै संरचना ०७५ साल जेठ २ गते अनुसार हुनुपर्छ भन्ने नेपाल–खनाल पक्षको अडान छ । त्यो नभए एकै ठाउँ बस्न सकिन्न भन्ने उसको मत छ ।

संस्थापन पक्षले भने त्यसलाई मानेको छैन र विषय धेरै अघि बढ्यो भनिरहेको छ । तर वैशाख ३० गते वरिष्ठ नेता नेपालसितको भेटवार्तामा विधि खोजेर फर्किन ओली तयार भएकाले कार्यदलले यो गाँठो फुकाउने उपाय निकाल्नेछ ।

२. फागुन २३ पछि दुवै समूहले गरेका निर्णय खारेजी
०७५ जेठ २ मा फर्किन नेपाल–खनाल समूहले फागुन २८ गते र त्यसपछिका सबै निर्णय खारेज हुनुपर्ने शर्त राखेको छ । जसमा नेपाल –खनालको पदाधिकारी र जिम्मेवारी खोसिएकोदेखि पूर्व माओवादीका नेताहरुको केन्द्रीय समितिमा मनोनयको विषय छ । तर अब सहमति खोज्दा त्यो मात्रै नभएर नेपाल–खनाल पक्षले राष्ट्रिय भेलाबाट गरेका निर्णय, गठन गरिएका समानान्तर कमिटीको खारेजी पनि अर्को छलफल र सहमति खोज्नुपर्ने विषय हुनेछ । नेपाल पक्षले जिल्ला जिल्लामा र भातृ संगठनमा समानान्तर कमिटी बनाएको छ ।

३. पूर्व माओवादी नेताहरुको व्यवस्थापन
एमालेको बैठक नबसी रामबहादुर थापा लगायतका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनित गरिएपछि नेपाल–खनाल पक्षले ठूलो आपत्ति जनाएको छ । उसको तर्क सिंगो एमालेको बैठक बसेर गर्नुपर्ने निर्णय ओलीले गरेको भन्दै आपत्ति जनाउँदै आएको छ । तर अब कार्यदलले नै पूर्व माओवादी नेताहरुको व्यवस्थापनका बारेमा उपाय खोज्नेछ । तर यसमा ओलीले पछि नफर्कने अडान राख्नुभएको छ । त्यसैले रामबहादुर थापा लगायतको नेताको अपमान पनि नहुने र ओलीको निर्णयको पनि मान रहने गरी उपाय खोज्ने तयारी छ ।

४. सांगठानिक संरचनाको अधिवेशनबारे
पार्टी संरचनालाई ०७५ साल जे २ गतेको अवस्थामा फर्काउने सहमति भएमा त्यसपछि पार्टी केन्द्र, जिल्ला सहित अरु संरचनाको अधिवेशन कहिले गर्ने भन्ने विषयमा गृहकार्य पनि कार्यदलले गर्नेछ । किनकी दुवै पक्षले समानान्तर ढंगले काम गरिरहेकाले तत्काल वैकल्पिक उपाय निकालेर सहमति गरेपनि त्यसको खास निकास महाधिवेशन र अधिवेशनबाटै खोज्नु पर्ने अवस्था छ ।

५. विगतको समीक्षा
१० सदस्यीय कार्यदलले पार्टीभित्रको विवाद समाधानको उपाय मात्रै खोज्ने छैन, विगतको पनि समीक्षा गर्नेछ किनकी अहिले जे भैरहेको छ, त्यसको जरो के हो भनेर खोजी गर्ने काममा पनि कार्यदलले विशेष गरी काम गर्ने बताइएको छ । यसो गर्दा आगामी दिन सहज हुन सक्ने अपेक्षा छ ।

होला त सहमति ?
केही दिनयता नाटकीय ढंगले सहमतिको दिशामा गएको देखिए पनि आशंका भने बाँकी नै छन । किनकी दुवैतर्फ अहिले पनि विश्वासको वातावरण बनेको छैन । एउटै पार्टी भएपनि कार्यदलमा दुवै समूहको अलगअलग नेतृत्व देखिएकाले शुरुमै विवाद हुन सक्नेछ ।

किनकी गुटको कार्यदल बनाएर त्यसलाई स्वीकारिएको छ र संभवत जेठ २ मा फर्किने विषयमा छलफलको शुरुवात दुवै समूहका अडानबाट हुन सक्नेछ । नेपाल–खनाल समूहले जेठ २ गते भने पनि शुरुमै ओली पक्षले नमान्न सक्छ । त्यसमाथि ओली समूहका केही नेताले जेठ २ मा फर्किन सकिन्न भन्ने सार्वजनिक अभिव्यक्ति र ओलीले धोका दिन सक्ने नेपाल–खनाल पक्षका नेताको आशंकाले सहजै सहमति नहुन पनि सक्छ ।

समयको विवाद
विवाद समाधानका लागि कार्यदल त बनाइएको छ । तर त्यसले कहिले प्रतिवेदन दिने भन्ने प्रष्ट छैन । ओलीसितको वार्तापछि स्वयं वरिष्ठ नेता नेपालले त्यसलाई स्वीकार्नुभएको छ । किनकी तीन दिन भित्र सहमति हुनुपर्छ भनेर उहाँले भने पनि समय धकेलिन सक्छ ।
जसको असर जेठ ६ गते हुने राष्ट्रिय चुनावलाई प्रभावित गर्नेछ ।

किनकी मैदानमा एमालेकै रामबहादुर थापा र डा. खिमलाल देवकोटा मैदानमा हुनुहुन्छ । नेपालले तीन दिन भनेको त्यसैलाई आधारमा मानेर हो भन्ने प्रष्टै बुझन सकिन्छ । कतै ओलीले ६ गतेभन्दा पछि धकेलेर गृहमन्त्री थापालाई भोट हाल्न लगाउने र पछि धोका दिने काम त गर्नुहुन्न भन्नेमा यो समूह सशंकित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्