विदेश

भारतमा थपिए ३ लाख १० हजारभन्दा बढी नयाँ सङ्क्रमित, ४ हजार ९० जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ २ गते ९:३८
भारतमा थपिए ३ लाख १० हजारभन्दा बढी नयाँ सङ्क्रमित, ४ हजार ९० जनाको मृत्यु

२ जेठ २०७८ नयाँ दिल्ली । भारतमा पछिल्लो समय दैनिक कोरोना सङ्क्रमणको दरमा कमी आउन थालेको छ । दैनिक ४ लाखका दरले कोरोना सङ्क्रमण दर थपिने गरेकोमा विगत केही दिनदेखि त्यो संख्या ५० हजारले घटेको छ ।

कोरोनासम्बन्धी विश्व तथ्याङ्कलाई अद्यावधिक गर्दै आएको वर्ल्ड मिटरका अनुसार भारतमा पछिल्लो एक सातादेखि कोरोना सङ्क्रमित थपिने दर ३ लाख ५० हजारको हाराहारीमा रहेको बताएको छ ।

गत २४ घण्टामा पनि भारतमा ३ लाख १० हजार ८ सय २२ जनामा कोरोनासङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २ करोड ४६ लाख ८३ हजार ६५ पुगेको छ ।

भारत दैनिक सङ्क्रमण दर थपिनेमा विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ । जहाँ दिनकै ४ लाखसम्म कोरोना सङ्क्रमित थपिने गरेको थियो । अहिलेपनि ३ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण देखिने गरेको छ ।

भारतमा कोरोनासङ्क्रमणको दरमा कमी आएपनि मृत्यु दर भने अझै दैनिक ४ हजार रहेको छ । गत २४ घन्टामा ४ हजार ९० जनाको कोरोनासङ्क्रमणको कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७० हजार ३ सय १९ पुगेको छ ।

यस्तै भारतमा हालसम्म कोरोनाका कारण सङ्क्रमित भएकामध्ये २ करोड ७ लाख ८९ हजार ३८ जना स्वस्थ भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *