विदेश

अमेरिकी राष्ट्रपतिद्वारा इजरायल र प्यालेस्टाइनी विद्रोही पक्षसँग छलफल

हिमालय टिभी
२०७८ जेठ २ गते ८:०४
अमेरिकी राष्ट्रपतिद्वारा इजरायल र प्यालेस्टाइनी विद्रोही पक्षसँग छलफल

२ जेठ २०७८ काठमाडौं । इजरायल र प्यालेष्टाइन विद्रोहीबीचको संघर्षबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले दुबै देशका प्रमुखसँग छलफल गरेका छन् ।

बाइडेनले इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहु र प्यालेष्टाइनका राष्ट्रपति मोहमुद अब्बाससँग टेलिफोन कुराकानी गरेका हुन् । गाजा क्षेत्रमा लगातारको इजरायली हवाई हमला र प्यालेष्टाइनी विद्रोही हमासको रकेट हमला चलिरहेकै बेला बाइडेनले दुबै पक्षसँग कुराकानी गरेका हुन् ।

अन्तर्राष्ट्रिय समुदायबीच पनि दुबै देशबीच शान्ति हुनुपर्ने माग उठ्दै आएको छ । पछिल्लो पटक इजरायलले गाजास्थित एक शरणार्थी शिविरमा हवाई हमला गर्दा १० जनाको मृत्यु भएको र अर्को विदेशी सञ्चारमामाध्यम रहेका एक भवन ध्वस्त भएको थियो ।

उक्त भवनमा अल जजिरा, एशोसिएटेड प्रेस लगायत अन्य विदेशी सञ्चारमाध्यमको कार्यालय रहेको बताइएको छ । उता हमासले एक जनाको मृत्यु बराबर सयौं रकेट प्रहार गर्ने गरेको दाबी गरेको छ । यसबारे थप छलफल गर्न संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को बैठक आज बस्दै छ ।

यसका लागि अमेरिकी विशेष दूत हादी अम्र इजरायली शहर तेल अभिभ पुगिसकेका छन् । युद्धविरामबारे सहमति जुटाउन उनले इजरायल, प्यालेष्टाइन र संयुक्त राष्ट्रका अधिकारीसँग कुराकानी गर्नेछन् । प्यालेष्टाइन र राष्ट्र संघका अधिकारीले स्थायी शान्तिमा जोड दिंदै आएका छन् ।

त्यस्तै मुस्लिम देशको संगठन अर्गानाइजेशन अफ इस्लामिक कर्पोरेशन, ओआइसीको इस्लामिक देशका विदेशमन्त्रीको आकस्मिक बैठक पनि आज बस्दैछ । ५७ सदस्यीय संगठनले यसअघि नै प्यालेष्टाइनविरुद्ध इजरायली कारवाहीको निन्दा गर्दै संयुक्त वक्तव्य जारी गरिसकेको छ ।

गत सोमबारदेखि जारी भिडन्तमा गाजामा १ सय ४५ र इजरायलमा १० जनाको मृत्यु भएको भैसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *