Main News

प्रधानमन्त्री ओली किन यसरी झुटमाथि झुट बोलिरहेका छन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १ गते २०:५६
प्रधानमन्त्री ओली किन यसरी झुटमाथि झुट बोलिरहेका छन् ? (भिडियो रिपोर्टसहित)

१ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणका विषयमा बारम्बार विवादस्पद अभिव्यक्ति दिँदै आउनु भएको छ । अघिल्लो कार्यकालमा कोरोनालाई सामान्य रुपमा लिएर विवादमा आएका प्रधानमन्त्रीले तेस्रो कार्यकाल शुरु गरेकै दिन अस्पतालमा बेड र अक्सिजन अभाव नभएको गलत अभिव्यक्ति दिनुभयो ।

तेस्रो कार्यकालका लागि सत्तामा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दावी हो यो । तर तथ्यले यस्तो भन्दैन । यो शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको दृश्य हो । यहाँ भित्र ठाउँ नभएपछि बाहिर यसरी कोरोना संक्रमितको उपचार भैरहेको छ ।

आकस्मिक सेवा कक्षमा ठाउँ नपुगेपछि अस्पतालले टहरामै १० बेड थप गरेर बिरामीको उपचार गरिरहेको छ । शुक्रराज अस्पतालमा अहिले ४० भन्दा बढी कोरोना संक्रमित आकस्मिक सेवा विभागमा उपचार गराइरहेका छन ।

र, यो शिक्षण अस्पतालमा महाराजगञ्जको दृश्य हो । अस्पतालमा अहिले ३२५ जना आइसोलेसनमा छन् भने १८ जना आईसीयू र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अस्पतालमा भएका बेड बिरामीले भरिभराउ छन्। त्यसै बाहिर राखेरै उपचार गर्नु परेको छ ।

सरकारले राष्ट्रिय ट्रमा सेन्टरलाई पनि कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउने निर्णय गर्‍यो। ट्रमामा अहिले १०५ जना संक्रमित उपचारमा छन्। गम्भीर प्रकारका यी बिरामीले अक्सिजनको अभाव झेलिरहेका छन ।

अस्पतालका निमित्त निर्देशक डाक्टर सन्तोष पौडेलले त फेसबुक मार्फतनै हार गुहार गर्नुपर्यो । पाटन अस्पतालमा पनि बेड छैन । अब नयाँ भर्नाका लागि पालो कुर्ने बाहेक अर्को विकल्प नभएको अस्पताललले जनाएको छ ।

अब प्रधानमन्त्रीले भनेको अर्को विषयतिर जाउँ उहाँले भन्नुभएको छ– अस्पतालका बेड एकातिर बिरामी अर्कोतिर पर्ने अवस्था छ। बेडमा भन्दा सुविधासम्पन्न अस्पतालमा जाने सबैको इच्छा हुन्छ ताकि बाँच्न सकियोस्। यसमा पनि स्थिति प्रधानमन्त्रीले भने जस्तो छैन किनकी सुविधा सम्पन्न भनिएका अस्पतालले यो कोरोना कहरमा उपचारबाट हात झिकेका छन, सबैको कारण हो अक्सिजन अभाव ।

टेकु, वीर, ट्रमा सेन्टर, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा बिरामीहरु भित्र राख्ने सम्भावना नभएर आँगनमै राखेर उपचार भइरहेको छ। निजी अस्पतालहरुले अक्सिजन अभावमा बिरामी भर्ना गर्न बन्द गरिसकेका छन्। काठमाडौं उपत्यकाका मेडिकेयर, मेडिसिटी, ओम, हेल्पिङ ह्याण्डस, दीर्घायु, करुणा, बयोधा, मध्यपुर ठिमी, स्टारलगायतका अस्पतालले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना बन्द गरेका छन ।

कतिपय अस्पतालले त विरामी डिस्चार्ज गरेर अन्तै पठाए । यसमा गम्भीर ख्याल गर्न आयोगले सरकारलाई भनेको छ। अक्सिजन खोज्न बिरामीका आफन्तको उद्योगमा लाम लागीरहेको छ । यो काठमाडौंको अवस्था हो ।

काठमाडौं बाहिर पनि अक्सिजनको अभाव उस्तै छ । अक्सिजन नपाएर विरामीले ज्यान गुमाइरहेका छन् ।

रुपन्देहीको युनिभर्सल अस्पताल र कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभावमा बिरामी भर्ना नगर्ने घोषणा गरेको छ ।

अक्सिजन अभाव यस्तो भयावह छ कि बिरामीका आफन्त हारगुहार गरिरहेका छन । यो बुटवलको दृश्य हो । अक्सिजन पाउला र आफन्तको ज्यान जोगाउँला भन्ने आशमा यसरी आफन्त धाउँछन् र लाम लाग्छन् ।

र यो धनगढीको दृश्य हो । यहाँ पनि देशका अरु ठाउँमा जस्तै अक्सिजनको हाहाकार छ । र, अक्सिजन नपाएर कोरोना संक्रमितको कतिबेला ज्यान जान्छ भन्न सकिन्न ।

अक्सिजनको अभावमा गत बुधबार मात्रै रुपन्देहीमा नौ जना तथा नेपालगञ्जमा छ जनाको र बिहीबार काठमाडौंका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको प्रतिवेदन मानव अधिकार आयोगले सार्वजनिक गरेको छ। अभावका कारण नागरिकले खेपेको दुख, भोगेको र भएको क्षति त प्रतिनिधि दृश्य र कुरा मात्रै हो ।

लगभग जताततै अवस्था यस्तै हो । त्यसैले अवस्था प्रधानमन्त्रीले भने जस्तो छैन । तर तेस्रो कार्यकाल सम्हालेपछि प्रधानमन्त्रीले गरेको यो दावी छिटो पुरा होस । यति भयो भने कोराना नियन्त्रण र मानवीय क्षति कम हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *