Main News

केपी शर्मा ओलीले आज तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदै

हिमालय टिभी
२०७८ वैशाख ३१ गते ७:५२
केपी शर्मा ओलीले आज तेस्रोपटक प्रधानमन्त्रीको सपथ लिँदै

३१ वैशाख २०७८ काठमाडौं । तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ ।

आज दिउँसो २ बजे शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ । आफ्नै पार्टीका २८ जना सांसदले मतदानमा भाग नलिएपछि सोमबार प्रधानमन्त्रीबाट पदमुक्त भएका ओली तिनै नेताको समर्थनमा तीन दिनमै पुनः प्रधानमन्त्री बन्नु भएको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग हिजो दिउँसो तीन घन्टाभन्दा लामो छलफल गरेर पार्टी विवाद टुंग्याउन कार्यदल बनाउने सहमति गरेपछि संसदमा ठूलो दलको नेताको हैसियतमा ओली अल्पमतको प्रधानमन्त्री बन्नु भएको हो ।

संसदमा विश्वासको मत गुमाएर कामचलाउमा परिणत भएलगत्तै राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बन्ने सरकारका लागि दाबी प्रस्तुत गर्न आह्वान गर्नु भएको थियो ।

तर, निर्धारित समयमा विपक्षी दलहरुले बहुमतको सरकार गठनको दाबी नगरेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसद्को ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्नु भएको हो ।

उहाँले ३० दिनभित्र संसदमा बहुमत जुटाउनुपर्नेछ । ओली पहिलोपटक ०७२ साल असोज २४ असोज गते र दोस्रोपटक ०७४ साल फागुन ३ गते प्रधानमन्त्री बन्नु भएको थियो ।

ओलीले आजै अहिलेका आधाजति मन्त्रीलाई निरन्तरता दिने गरी मन्त्रिपरिषद् गठन गर्ने तयारी गर्नु भएको छ । पहिलो चरणको मन्त्रिपरिषद् विस्तारमै ओलीले वरिष्ठ नेता नेपाल तथा खनाल समूहलाई पनि समेट्ने तयारी गर्नु भएको छ ।

नेता नेतासँग प्रधानमन्त्रीले यसअघि पहिलो चरणमा मन्त्री बनेकालाई आवश्यकताअनुसार बिदा दिने र नयाँ मन्त्री नियुक्त गर्ने सहमति गर्नुभएको छ । त्यसअनुसार नै केही नयाँ अनुहारसमेत समेटेर मन्त्री नियुक्त गर्ने तयारी छ ।

नेपाल समूहबाट ओलीकै टिममा मन्त्री भइसकेका बाहेकलाई पहिलो चरणमा समेट्ने सम्भावना रहेको बताइएको छ । जसअनुसार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित नेपाल समूहका केही नेता पहिलो चरणमा मन्त्री बनाइने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *