Main News

नयाँ सत्ता समीकरणका लागि यस्तो छ नेपाल–खनाल समूहको रणनीति

हिमालय टिभी
२०७८ वैशाख २९ गते ८:२३
नयाँ सत्ता समीकरणका लागि यस्तो छ नेपाल–खनाल समूहको रणनीति

२९ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले परिस्थिति हेरेर भावी सत्तासमीकरणबारे थप निर्णय लिने भएको छ ।

नेपाल–खनाल समूहको हिजो झण्डै चार घण्टा भएको भर्चुअल छलफलले परिस्थिति हेरेर निर्णय लिने निष्कर्ष निकालेको हो । परिस्थिति हेरेर स्थायी कमिटी र प्रतिनिधिसभाका सदस्यहरुको छलफलबाट आवश्यक निर्णय लिने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो ।

छलफलमा विश्वासको मतमाथि संसद्‍मा भएको मतदानमा अनुपस्थित हुने निर्णयको समीक्षा भएको थियो । छलफलले प्रधानमन्त्री ओली नेतृत्वलाई जोगाउन भारत खुला रुपमा आएको निष्कर्ष निकालेको छ ।

भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले एक ट्वीटमार्फत् भारतको रोजाई ओली भएको उल्लेख गरेका थिए । नेता भुसालका अनुसार संसद्‍मा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिन नजानु सही निर्णय भएको छलफलको निष्कर्ष छ । नेपाल–खनाल समूहका २८ जना सांसद संसद बैठकमा अनुपस्थित भएका थिए ।

यसैबीच नेता माधवकुमार नेपाल र भीम रावलले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् । सभापति देउवालाई भेट्न नेपाल र रावल हिजो साँझ बुढानिलकण्ठ पुगेका थिए ।

नेपाल, रावल लगायतका नेता सांसद पदबाट राजीनामा गरेर भए पनि अ‍ोलीको विरुद्ध संसदमा बहुमत पुर्याउन सघाउनुपर्ने पक्षमा छन् । तर नेपाल पक्षमै राजीनामा दिने, पार्टी फुटाउने र कांग्रेसको सरकार बनाउन सघाउने विषयमा एकमत हुन सकेको छैन ।

यसअघि नेपाल र रावलले देउवालाई आफूहरु ओली सरकार ढाल्न आवश्यक सांसदको राजीनामा गराउन तयार रहेको आश्वासन दिएका थिए ।

त्यसबापत कांग्रेस र माओवादीले उपचुनावमा राजीनामा गरेका एमालेका सांसदलाई जिताउनुपर्ने प्रतिबद्धता मागेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *