नेपाल–खनाल समूहले राजीनामा नदिँदा नयाँ सरकार गठनमा समस्या

२७ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको नेपाल खनाल पक्षका सांसदले राजीनामा नदिने निर्णय गरेसँगै वैकल्पिक सरकार बनाउन अफ्ठेरो हुने भएको छ ।
प्रधानमन्त्री केपी ओलीले आज विश्वासको मत नपाएमा वैकल्पिक सरकार बनाउन समस्या हुने देखिएको हो ।
ओलीको विकल्पमा सरकार बनाउन कांग्रेस र माओवादी केन्द्र सहमत भए पनि निर्णायक रहेको जसपा विभाजित छ ।
संसदमा विद्यमान अंकगणित अनुसार नेपाल समूहका कम्तिमा २० जना सांसदले राजीनामा दिएको भए कांग्रेस–माओवादी र जसपा अध्यक्ष उपेन्द्र यादव समूहको गठजोडमा वैकल्पिक सरकार बन्ने स्थिति हुन्थ्यो । तर नेपालखनाल समूहले राजीनामा नदिएपछि अहिले त्यस्तो नहुने देखिएको छ ।
संसदको विद्यमान अंकगणितमा एमालेसँग १ सय २१ सांसद छन् । असन्तुष्ट पक्षले राजीनामा नदिएपछि संसदमा कायम रहेको सदस्य संख्याका आधारमा १ सय ३६ भए ओलीलाई बहुमतको सरकार टिकाउन १५ जना सांसद भए पुग्छ ।
नेपाल खनाल पक्षका २१ जना सांसदले राजीनामा दिएको भए एमालेसँग एक सयजना मात्रै सांसद हुने थिए र ओलीलाई बहुमतका लागि ३६ जना सांसद आवश्यक पर्ने थियो । त्यसका लागि चाहिँ ३२ सांसद रहेको जसपाले एक मतका साथ समर्थन गर्दा पनि सरकार टिकाउन सक्ने अवस्था हुँदैन थियो ।
अब ओलीको विकल्पमा सरकार बनाउन कांग्रेस र माओवादीलाई समस्या भएको छ । वैकल्पिक सरकारका लागि कांग्रेस र माओवादीसँग सांसद संख्या १०९ मात्रै छ ।
त्यो बहुमतका लागि पर्याप्त होइन । त्यसमा सग्लो जसपाको साथ भएमा मात्रै सरकार बन्न सक्छ । धारा ७६ को उपधारा २ अनुसारको सरकार नबन्ने अवस्थामा उपधारा ३ अनुसार प्रधानमन्त्री ओलीकै सरकार बन्ने अवस्था छ । किनकी एमाले सबैभन्दा ठूलो दल हो ।
प्रतिक्रिया