Main News

‘नेपालमा उत्पादित अक्सिजनले धान्दैन, सरकार ध्यान देउ’ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २७ गते ६:३२
‘नेपालमा उत्पादित अक्सिजनले धान्दैन, सरकार ध्यान देउ’ (भिडियो रिपोर्टसहित)

२७ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको माग बढेसँगै अक्सिजनको व्यवस्थापन गर्न सरकार लागि पर्नुपर्ने देखिएको छ । अहिले नेपालमै उत्पादन भएको अक्सिजनले धानेको भए पनि अबका दिनमा भने नेपालमा उत्पादित अक्सिजनले धान्न नसक्ने अवस्था आउने खतरा छ । त्यसैले उद्योगीहरुले सरकारलाई सजग गराएका छन् ।

काठमाडौं उपत्यकामा अहिले नौ वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । ती प्लान्टले केही हप्ता अघिसम्म अक्सिजन हैन, अक्सिजन राख्ने सिलिन्डरको अभाव भएको भन्दै सिलिन्डर जुटाउन आग्रह गरिरहेका थिए । तर अहिले अवस्था फेरिएको छ । अक्सिजन उत्पादकहरु अक्सिजनको माग बढेसँगै अक्सिजन नै पुर्‍याउन नै नसक्ने अवस्था आएको बताउँछन् ।

देशभर दिनहुँ कोरोना संक्रमित बढ्दै गएसँगै निजी अस्पतालले संक्रमित भर्ना लिनै छाडेका छन्। यसको कारण मध्ये एक, अक्सिजनको कमी । अक्सिजन नभएपछि विरामी भर्ना लिए पनि उपचार गर्न नसक्ने भएकाले विरामी नै भर्ना नगर्ने उनीहरुले बताएका छन् ।

त्यसैले अक्सिजनको अभाव कम गर्न सरकारले लिक्विड अक्सिजन आयात गर्ने तयारी गरेको छ । तर व्यवसायी भने अहिलेको अवस्थामा अक्सिजन प्लान्ट बढाउनु राम्रो विकल्प हुने सल्लाह दिन्छन् ।

कोभिडको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजन उद्योग चौबीसै घण्टा चल्न थालेका छन् । तर पनि अक्सिजन प्लान्टले सबैलाई समयमै अक्सिजन दिन सकेका छैनन् ।

अनावश्यक व्यक्तिले पनि अक्सिजन होल्ड गरेको उनीहरुको आशंका छ । अक्सिजन आवश्यक परेका व्यक्तिले मात्रै, प्रयोग गर्ने हो भने पनि अहिलेको समस्या समाधान हुने उद्योगीहरु बताउँछन् ।

देशभर गरेर अहिले २६ वटा अक्सिजन प्लान्ट छन् । ती प्लान्टमा १ लाख ८ हजार १ सय ६४ सिलिन्डर छन् । अक्सिजन उत्पादनमा भइरहेको सीमितता र संक्रमितको संख्यामा भइरहेको वृद्धिले सिलिन्डर आयात र खरिदतर्फ सरकारले ध्यान दिनुपर्ने उद्योगीहरूको जोड छ ।

त्यसका लागि सरकारले चीन, भारतबाट तरल अक्सिजन ग्यास तत्काल आयात नगरे नेपालमा अक्सिजनको अभावले धेरैको ज्यान जान सक्ने अवस्था आउने उद्योगीको चेतावनी छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *