Main News

चौतर्फी विरोधका बावजुद संवैधानिक निकायमा नियुक्ति सिफारिस, सभामुख र देउवाद्वारा बहिस्कार

हिमालय टिभी
२०७८ वैशाख २६ गते १३:०५
चौतर्फी विरोधका बावजुद संवैधानिक निकायमा नियुक्ति सिफारिस, सभामुख र देउवाद्वारा बहिस्कार

२६ वैशाख २०७८ काठमाडौं । विवाद र बहिस्कारकाबीच बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगमा पदाधिकारी सिफारिस गरेको छ ।

संविधानमा सर्वसम्मतिले निर्णय गर्नुपर्ने भएपनि बहुमत सदस्यको उपस्थितिमा परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगहरुमा पदाधिकारी सिफारिस गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव माधव रेग्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मी र निर्वाचन आयोगको सदस्यमा पूर्वसचिव वीरबहादुर राईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

सबै रिक्त संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरिए पनि गोप्य राखिएको छ । प्रस्तावित संवैधानिक आयोगका पदाधिकारीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने व्यवस्था छ ।

संवैधानिक परिषद्का सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको बहिष्कारका बीच बैठक बसेको हो। माधव रेग्मी कांग्रेस सभापति देउवा निकट हुनुहन्छ ।

देउवाले बैठक बहिस्कार गरेपनि देउवा निकट व्यक्तिलाई संवैधानिक अंगको नेतृत्व दिनुलाई अर्थपूर्ण मानिएको छ । बैठकमा परिषद्का अध्यक्ष प्रधानमन्त्री ओली, सदस्य प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन। अहिले उपसभामुख खाली छ ।

अहिले लोक सेवा आयोगमा सबै पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य तथा महिला आयोगसहित अरु केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *