Political Hightlights

प्रधानमन्त्रीले भोलिका लागि बोलाएको संवैधानिक परिषद् बैठकमा देउवा नजाने

हिमालय टिभी
२०७८ वैशाख २५ गते १३:२३
प्रधानमन्त्रीले भोलिका लागि बोलाएको संवैधानिक परिषद् बैठकमा देउवा नजाने

२५ वैशाख २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिका लागि बोलाएको बैठकमा नजाने घोषणा गर्दै अरुलाई पनि नजान आग्रह गर्नुभएको छ ।

सभापति देउवाले प्रेस विज्ञप्ति निकालेर सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै संसदीय मूल्य मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमै प्रहार गरेको भन्दै बैठकमा भाग नलिन परिषद्का अन्य सदस्यलाई समेत आग्रह गर्नुभएको हो ।

देउवाको यो कदमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई बैठकमा नजान दबाब दिएको छ । संविधानको मूल मर्ममा प्रहार गरेर संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने पनि देउवाले स्पष्ट पार्नुभएको छ ।

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी ऐनलाई संशोधन गर्ने सरकारको कामलाई शुरुदेखि नै अनुचित भन्दै आएको र विरोध गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।

संकुचित गर्ने गरी पटक–पटक संसद छलेर अध्यादेश जारी गरी ऐन संशोधन गर्ने अनुचित कार्य गरेको कांग्रेसको ठहर छ । देउवा र सभामुख अग्नि सापकोटाले बैठक बहिस्कार गर्दै आउनुभएको छ ।

संवैधानिक परिषद सम्बन्धी ऐनमा सर्वसम्मतिले संवैधानिक नियुक्तिमा सिफारिस गर्ने व्यवस्था भएपनि प्रधानमन्त्री ओलीले अध्यादेशमार्फत बहुमतले सिफारिस गर्ने व्यवस्था गर्नुभएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलको नेता, सभामुख, राष्टिय सभा अध्यक्ष, उपसभामुख र प्रधानन्यायाधीश रहने व्यवस्था छ । अहिले उपसभामुख खालि छ भने बैठकमा अहिले प्रधानमन्त्री, राष्टिय सभा अध्यक्ष र प्रधानन्यायाधीशको उपस्थिति हुने गरेको छ ।

देउवाले भोलिको बैठकमा प्रधानन्यायाधीशको उपस्थिति रोक्ने कोशिस गर्नुभएको छ । प्रधानन्यायाधीश नगए प्रधानमन्त्रीलाई अफ्ठेरो हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्