ठुलो संख्यामा सांसद र संसद सचिवालयको कर्मचारीमा कोरोना संक्रमण पुष्टि
२४ वैशाख २०७८ काठमाडौं । संसदको विशेष अधिवेशनको तयारीका लागि गरिएको परीक्षणका क्रममा ठूलो संख्यामा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा २२ र २३ गते भएको परीक्षणमा सहभागीमध्ये १० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । कुल १२ सय ३४ जनाको स्वाव परिक्षण गरिएका मध्ये अहिलेसम्म ६ सय १३ जनाको रिपोर्ट आउँदा ६५ जनामा संक्रमण देखिएको छ ।
जसमध्ये १४ जना सांसद छन । अरु कर्मचारी, सुरक्षाकर्मी र संसदीय मामिलाको रिपोर्टिङ गर्ने पत्रकार रहेको संसद सचिवालयले जनाएको छ । १४ जना संक्रमित सांसद मध्ये एमालेका ८, कांग्रेसका दुई र जसपाका ४ जना छन ।
अहिलेसम्म २५ जना सांसदलाई संक्रमण भएको छ । संसद सचिवालयबाट वैशाख २२ गते १ सय २८ सांसद सहित ६ सय ९ जना, २३ गते ६७ जना सांसद सहित ५ सय २५ र आज १० जना सांसद सहित सय जनाको स्वाव संकलन गरिएको छ ।
२७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन चाहेको अवस्थामा संक्रमित सांसदले कसरी मतदान गर्ने भन्ने विषयमा सचिवालयले गृहकार्य गरिरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन प्रतिनिधि सभाको बैठक वैशाख २७ गते बस्दैछ । त्यसैका लागि सांसद, कर्मचारी र पत्रकारको स्वाब संकलन गरिएको थियो ।
प्रतिक्रिया