राजनीति

ओलीविरुद्ध विपक्षीसँग मोर्चाबन्दी : ओलीबाट अलग भएको नेपाल-खनालको सन्देश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २३ गते ५:५७
ओलीविरुद्ध विपक्षीसँग मोर्चाबन्दी : ओलीबाट अलग भएको नेपाल-खनालको सन्देश (भिडियो रिपोर्टसहित)

२३ वैशाख २०७८ काठमाडौं । सबैको चासो छ । र, एमालेको संस्थापन र असन्तुष्ट पक्ष यसमा आ–आफ्ना रणनीति बनाउन व्यस्त छन् । तर नेपाल–खनाल पक्षले आज एउटा निर्णय गरेर ओलीलाई साथ दिने होइन, अर्कै बाटो बनाएर हिंड्ने प्रष्ट सन्देश दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिन लाग्दा के नेकपा एमाले सग्लो रहला भन्ने प्रश्न निकै पेचिलो बनेको छ । किनकी एमाले अहिले विभाजनको संघारमा छ ।

त्यसैले २७ गते एमालेको नेपाल–खनाल पक्षले प्रधानमन्त्री ओलीलाई मत देला वा नदेला धेरैको चासो छ । तर बुधबार प्रधानमन्त्री ओलीलाई एक्लै पार्ने गरी अरु विपक्षी दलसँग मोर्चाबन्दी गरेर एमालेको नेपाल–खनाल पक्षले ओलीका विरुद्ध उभिने प्रष्ट सन्देश दिएको छ ।

राष्ट्रिय सभामा उम्मेदवारी
बुधबार नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह र एमालेको नेपाल–खनाल समूहबीच छलफल भयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको परामर्शपछि एमालेका वरिष्ठ माधवकुमार नेपालसमेत सहभागी छलफलमा मिल्ने सहमति मात्रै होइन, बागमती प्रदेशमा जेठ ६ गते हुने उपचुनावमा एमालेको नेपाल–खनाल समूहका डाक्टर खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति भयो ।

अध्यक्ष केपी शर्मा ओलीले अघि सारेका गृहमन्त्री रामबहादुर थापाका विरुद्ध आफू निकट देवकोटालाई उम्मेदवार बनाएर वरिष्ठ नेता नेपालले अब ओलीसँग नरहने प्रष्ट संकेत गर्नुभएको छ ।

माओवादीसँग एकताको सन्देश
त्यसो त माओवादी केन्द्र र एमालेको नेपाल–खनाल समूहको विछोड नचाहँदानचाहँदै भएको हो र ढिलोचाँडो एकता हुन्छ भनेर दुवै पक्षले दावी गरेका छन् । त्यसलाई पुष्टि हुने गरी उनीहरुले पछिल्लो निर्णय गरेका छन्, त्यो हो राष्ट्रिय सभाको उपचुनावमा नेपाल–खनाल समूहले माओवादी केन्द्रको चुनाव चिन्ह हसियाँ हथौडा प्रयोग गर्ने । डाक्टर खिमलाल देवकोटाले हसियाँ हथौडा चिन्ह लिएर चुनाव लड्नु हुनेछ । यसले पनि अब नेपाल–खनाल समूह ओलीसँग नबस्ने निर्णयमा पुगेको प्रष्ट हुन्छ ।

एमाले छोडेर कांग्रेस पसेकालाई समर्थन
अध्यक्ष ओलीसँग नरहेको संकेत दिने नेपाल–खनालको अर्को कदम हो– लुम्बिनी प्रदेशमा भर्खरै पार्टी छोडेर कांग्रेस पसेका दूगनारायण पाण्डेलाई राष्ट्रिय सभा चुनावमा समर्थन । बागमतीमा एमालेको नेपाल–खनाल पक्ष र लुम्बिनीमा कांग्रेसका पाण्डेलाई उम्मेदवार बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुवैतिर समन्वय गर्नुभएको थियो, जसमा एमाले वरिष्ठ नेता नेपालले सहमति जनाउनुभयो । प्रदेश सांसदबाट राजीनामा दिएर १९ गते कांग्रेस पसेका पाण्डेलाई गरेको समर्थनले नेपाल–खनाल समूह कांग्रेससँग सहकार्य गर्न सक्ने तर ओलीसँग नबस्ने सोचमा पुगेको देखिन्छ ।

ओलीलाई विश्वासको मत लिनबाट रोक्ने
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बुधवार प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट कसरी रोक्ने भनेर छलफल भयो ।

त्यसका लागि वरिष्ठ नेता नेपाल उपेन्द्र यादवको घर ललितपुरको हात्तीवनमै पुग्नुभयो । जबकी सँगै बस्ने स्थिति भएको भए नेपाल हात्तीवन होईन, बालुवाटार वा अन्यत्र कतै प्रधानमन्त्री ओलीसँगको छलफलमा हुनुपथ्र्यो । कम्तीमा ३० सांसद रहेको नेपाल खनाल समूह जसरी पनि ओलीलाई सत्ताबाट हटाउने पक्षमा छ र त्यसका लागि सामूहिक राजिनामा दिन पनि तयार भएर बसेको छ ।

नेपाल खनाल पक्षको पछिल्ला कदमले प्रधानमन्त्री ओलीले २७ गते संसदबाट विश्वासको मत लिनु अघि नै नेपाल खनाल पक्षले ओलीलाई अफ्ठेरो पार्ने गरी आकस्मिक निर्णय गर्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्