राजनीति

माओवादी केन्द्रले फिर्ता लियो ओली सरकारलाई दिएको समर्थन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २२ गते १२:५७
माओवादी केन्द्रले फिर्ता लियो ओली सरकारलाई दिएको समर्थन (भिडियो रिपोर्टसहित)

२२ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएको छ ।

माओवादी केन्द्रले ओली सरकारलाई आप्नो समर्थन नरहेको पत्र आज संसद सचिवालयमा बुझाएको हो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ४९ जना सांसद छन् । ओली सरकार रहे राष्ट्रियतासमेत संकटमा पर्ने भन्दै माओवादीले समर्थन फिर्ता लिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई लेखेको पत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टियतामा सौदाबाजी गरेर देशलाई बाह्य शक्तिको क्रिडास्थल बनाएको आरोप लगाइएको छ ।

संसद विघटनलगायतका असंवैधानिक कदम चालेका प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा नदिएको भन्दै माओवादीले प्रधानमन्त्रीको राजीनामा पर्खिदा ढिलो भएको समेत बताएको छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिन संसद बैठक बोलाएकोमा समेत माओवादीले त्यसलाई अवैधानिक भनेको छ । प्रधानमन्त्रीले अध्यादेशबाट शासन चलाउन खोजेको माओवादीको आरोप छ ।

पहिले समर्थन फिर्ता लिन आनाकानी गरेको माओवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि समर्थन फिर्ता लिएको हो ।

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिँदै हुनुहुन्छ । प्रचण्डले संसद सचिवालयलाई लेखेको पत्रमा प्रधानमन्त्री ओलीले राजनीतिलाई सत्ताको फोहरी खेल बनाएको, संविधान उल्लंघन गरेर प्रतिगामी योजनामा अघि बढेको कम्युनिष्ट आन्दोलनमा विसर्जनवादी आक्रमण गरेको र कोरोना महामारी नियन्त्रण गर्न असफल भएको आरोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्