राजनीति

सत्ताको खेलमा झेल: यस्ता छन् चार दल र ओलीका आआफ्नै दाउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २१ गते २०:५७
सत्ताको खेलमा झेल: यस्ता छन् चार दल र ओलीका आआफ्नै दाउ (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही २७ गते विश्वासको मत लिने तयारी गरेपछि राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । दलहरु सरकार बचाउने र ढाल्ने खेलमा व्यस्त देखिएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाए अविश्वास प्रस्ताव ल्याउन नमिल्ने भएकाले प्रतिपक्षी दल जसरी पनि रोक्ने दाउमा छन् । ओली पक्षले भने जसरी पनि बहुमत पुर्‍याउन कसरत गरिरहेको छ । कसका कस्ता दाउ र रणनीति छन् त हेरौं यो विष्लेषण ।

प्रधानमन्त्रीको योजना
विश्वासको मत लिने घोषणा गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली प्रतिपक्षी दल भन्दा कम दबाबमा हुनुहुन्छ । किनकी विश्वासको मत नपाए पनि चुनावमा जाने संभावना बाँकी रहने भएकाले प्रधानमन्त्रीलाई धेरै तनाव छैन । तर उहाँको पहिलो योजना भने जसरी पनि विश्वासको मत जुटाउनेमै छ । त्यसका लागि उहाँमाथि आफ्नै दलका सांसद एकढिक्का राख्दै जनता समाजवादी पार्टी जसपालाई पनि मनाउनुपर्ने चुनौति छ ।

जसपामा प्रधानमन्त्री ओलीसँग मिल्न नहुने मत अहिले बलियो छ । आफुसँग मिल्न आतुर अध्यक्ष महन्थ ठाकुर पक्षमा जतिसक्दो धेरै सांसद पुर्‍याएर पार्टी फुटाउने ओलीको योजना देखिएको छ । अध्यक्ष बाबुराम भट्टराइ र उपेन्द्र यादव पक्षले पनि जसपा फुटको संघारमा पुगेको स्वीकार्दै यसमा पैसा र शक्ति प्रयोग भइरहेको आरोप लगाएको छ ।

ओली र ठाकुर मिलेर करोडौं पैसा बोकेर सांसदको घर दैलोमा पुगिरहेको यो समुहको आरोप छ । यसमा नेपाल स्थित भारतीय दुतावासको समेत सहयोग रहेको भट्टराइ यादव समुहको निष्कर्ष छ । जसपाका कति सांसद प्रधानमन्त्रीको पक्षमा जान्छन भन्न सकिदैन ।

तर नेकपा एमाले एक ढिक्का भएको अवस्थामा प्रधानमन्त्रीलाई जसपाका १५ जना सांसदले समर्थन गरेमात्रै पनि पुग्नेछ । एमालेमा अहिले १ सय २१ जना सांसद छन् । त्यसवाहेक नेपाल मजदुर किसान पार्टीका एक सांसदले पनि प्रधानमन्त्रीलाई समर्थन गर्ने संभावना छ ।

नेपाली कांग्रेसको योजना
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा प्रधानमन्त्रीलाई हेर्ने दृष्टिकोणमा एकमत छैन । वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत धेरै नेता ओलीलाई पदबाट हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छन् । तर सभापति शेरबहादुर देउवा भने चुनाव हुने शर्तमा प्रधानमन्त्री ओलीलाई नै स्वीकार गर्न तयार हुनुहुन्छ ।

सभापति देउवामाथि यसका लागि विदेशी दबाब समेत परिरहेको कांग्रेसका नेताहरुको भनाइ छ । त्यसैले सभापति देउवा आफ्नो नेतृत्वमा सरकार बनाउन अघि बढने योजनामा देखिनुभएको छैन । प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिने र चुनावमा जाने देउवाको दाउ छ । तर कांग्रेसभित्रै ओलीको नेतृत्वमा चुनावमा जाँदा झन ठुलो समस्या हुनसक्ने मत पनि बलियो छ ।

त्यसैले कांग्रेस अझै अलमलमा देखिन्छ । उसले प्रधानमन्त्रीलाई विश्वासको मत पुग्न नदिन सक्रियता देखाए पनि आफ्नै नेतृत्वमा सरकार बनाउन भने अघि नसर्ने संभावना धेरै छ । त्यसो गर्दा चुनाव सुनिश्चित हुने सभापति देउवाको आंकलन छ ।

माओवादी केन्द्रको योजना
तेस्रो ठुलो दल मा‌ओवादी केन्द्र तत्कालै ओलीलाई हटाएर नयाँ सरकार बनाउन चाहन्छ । २७ गते ओलीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । त्यहीबीचमा प्रतिपक्षी दल मिलेर सरकार बनाउनु पर्ने उसको मत छ । तर कांग्रेस र जसपाभित्रको राजनीति भने माओवादीका लागि अनुकुल देखिएको छैन ।

त्यसैले यो बीचमा नेकपा एमाले भित्रै खेलेर सरकार ढाल्ने र नयाँ सरकार बनाउन सबै शक्ति लगाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीति छ । यो सरकार ढाल्न कांग्रेस र जसपा जसको नेतृत्व पनि स्वीकार गर्न माओवादी तयार भइसकेको छ ।

एमाले नेपाल–खनाल समूहको योजना
लुम्बिनी प्रदेशमा पछिल्लो पटक देखिएको राजनीतिक खेल हेर्दा केन्द्रमा पनि जतिबेला जे सुकै हुन सक्ने देखिन्छ । विशेष गरी सत्तारुढ एमालेका सांसद अहिले निकै तरल अवस्थामा छन् । नेपाल खनाल समूह जसरी पनि ओली सरकार ढाल्ने पक्षमा छ । तर दलिय बन्धनले खुलेर अघि आउन दिएको छैन । त्यसैले अब नयाँ सरकार बन्ने नबन्ने पनि नेपाल खनाल समुहको निर्णयमा पनि धेरै हदसम्म निर्भर हुने छ ।

अहिले नेपाल खनाल समूहमा १२ जना समानुपातिकसहित कम्तीमा ३० सांसद छन् । नेपाल खनाल समूह ओली हटाउने र नयाँ सरकार बन्ने शर्तमा सबै खालका उपाय अपनाउन तयार छ । तर यसमा सबैभन्दा ठुलो समस्या उसलाई कारवाहीको डर हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले समानुपातिक सांसद हटाएर नयाँ सांसद पठाउने संभावना रहेकाले नेपाल खनाल पक्ष अहिले फुकि फुकी पाइला चाल्ने पक्षमा छ ।

विपक्षमा भोट हाल्दा पनि कारवाहीमा परिने भएकाले यो पक्षका सबै सांसदले राजिनामा दिने संभावना पनि छ । त्यसका लागि राजिनामा दिने गरी छलफल समेत चलिरहेको छ । राजिनामा दिने सांसदको संख्याले मात्रै प्रतिनिधिसभामा कस्को बहुमत पुग्छ भन्ने आंकलन हुनेछ । नेपाल खनाल समूहका सांसदले राजिनामा दिएमा भने विपक्षी खेमामा बहुमत पुग्ने संभावना बढ्नेछ ।

जसपाका दुई समूहको योजना
नयाँ सत्ता समिकरणमा निर्णायक मानिएको जसपामा भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने र नदिने स्पष्ट दुइ खेमा छ । भट्टराइ यादव समूह जसरी पनि नयाँ सरकार बनाउने योजनामा छ भने ठाकुर समूह यही सरकार बचाउने । दुई समूहले त्यही अनुसार आन्तरिक गतिविधि तिब्र पारेका छन् ।

जसपाका मत हाल्न पाउने ३२ सांसदमध्ये अहिलेससम्म १८ जना भट्टराइ यादव समूह र १४ जना ठाकुर समूहमा छन् । तर ठाकुर समूहले अरुलाई तान्ने कोशिस जारी राखेको छ । यो अवस्थामा जसपाले एकढिक्का भएर निर्णय गर्ने संभावना तत्कालका लागि देखिएको छैन । बरु २७ गतेसम्म जसपा औपचारिक रुपमा विभाजन हुने संभावना बढी छ ।

अब २७ गतेसम्म राजनीतिक खेल झन तिब्र हुने निश्चित छ । यो खेलमा छिमेकी मुलुक पनि थाहा नपाउने गरी सामेल भएका छन् । तर कसले बाजी मार्नेछ भन्ने अहिले नै आंकलन गर्न भने गाह्रो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्