Main News

दाङमा आइसोलेशनको तयारी, अक्सिजन नहुँदा समस्या (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २१ गते ६:१५
दाङमा आइसोलेशनको तयारी, अक्सिजन नहुँदा समस्या (भिडियो रिपोर्टसहित)

२१ वैशाख २०७८ दाङ । दाङमा कोरोना संक्रमित बढ्दै गएपछि अस्पतालमा बेड र अक्सिजनको अभाव छ । संक्रमित उपचारबाट बन्चित हुन थालेपछि दाङका स्थानीय तहले धमाधम आइशोलेसन बेड निर्माण गरिरहेका छन् । जनशक्ति र अक्सिजन नहुँदा कोभिड अस्पतालको स्तरोन्नती गर्न भने समस्या भइरहेको छ ।

दाङमा पनि कोरोनाका संक्रमित दिन प्रतिदिन बढिरहेका छन । उपचारका लागि प्रयाप्त बेड छैनन् । एक सय बेडको कोरोना विशेष अस्पतालमा अक्सिजन अभावमा अहिले ५० बेडमात्रै संचालनमा छन् ।

अक्सिजनको पर्याप्तता भए एक सय बेड संचालन गर्न सकिने अस्पतालले बताएको छ । अस्पतालमा अहिले दैनिक १ सय २० सिलिण्डर अक्सिन खपत हुने गरेको छ । एक सय बेडमा संचालन गर्न दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्छ ।

जिल्लाका १० स्थानीय तहले २० देखि ५० बेडसम्मको आइसोलेशन संचालन गर्ने तयारी गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले ५० बेडको अक्सिजनसहितको आइसोलेशन बनाएको छ । यसले मात्र नपुग्ने भएकाले कोरोना विशेष अस्पतालको स्तरोन्नती गर्नुपर्नेम उपमहानगरको जोड छ ।

घोराही उपमहानगरपालिकाले पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर ४० बेडको आइसोलेशन बनाउन लागेको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका क्षेत्रका ४ स्थानीय तहले लमहीमा आइसीयु सहितको २५ बेडको अस्पताल संचालन गर्न लागेका छन् । शान्तिनगरले २० बेडको आइसोलेशन, बबईले ३० बेडको, दंगीशरणले २० बेड, बंगलाचुलीले २० बेडको आइशोलेसन पनि बनाइरहेका छन् । तर, सबै ठाउँमा अक्सिजनको अभाव छ ।

जिल्लामा अहिले ३ वटा अस्पतालले कोरोना संक्रमितको उपचार गर्दै आइरहेका छन् । अस्पतालमा बेड थपिँदै जाने तर अक्सिजन नहुने समस्या प्रशासनका लागि टाउको दुखाइ बनेको छ ।

लुम्बिनी प्रदेशमा कोरोना उपचारमा स्थानीय तहले सक्दो प्रयास गरिरहेका छन् । तर प्रदेशभरीकै अस्पतालमा बेड, अक्सिजन र जनशक्तिको समस्या देखिएको छ । यो समस्या समाधान गर्नुपर्ने प्रदेश सरकार भने राजनीतिक खेलमै व्यस्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *