Main News

काठमाडौंमा संक्रमितको शव व्यवस्थापनमा समस्या, बगरमा जलाउन थालियो शव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख २० गते १८:५४
काठमाडौंमा संक्रमितको शव व्यवस्थापनमा समस्या, बगरमा जलाउन थालियो शव (भिडियो रिपोर्टसहित)

२० वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुने बढ्दै गएपछि काठमाडौंमा शव व्यवस्थापनमा समस्या भएको छ । जसका कारण सेनाले पशुपतिमा विद्युतीय शवदाह गृह नजिकै बागमती किनारमा शव जलाउन थालेको छ ।

काठमाडौं उपत्यका र आसपासमा कोरोना संक्रमणबाट मृत्यु भएकालाइ पशुपतिको विद्युतीय शव दाह गृहमा जलाइने गरेको थियो । तर पछिल्लो समय मृतकको संख्या बढेसँगै विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गर्न समस्या परेको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव यहाँमाथि रहेको आर्यघाटमा लैजाँदा जोखिम हुने भयो । त्यसैले सेनाले नजिकै बागमती किनारमै शव जलाउन थालेको हो । विद्युतीय शव दाह गृहमा एउटा शव जलाउन डेढ घन्टासम्म लाग्छ ।

जस अनुसार यहाँ २४ घन्टामा १७–१८ वटा मात्र शव मात्र जलाउन सकिन्छ । तर पछिल्ला दिनमा विद्युतीय शव दाह गृहमा पुग्ने शव धेरै छन् । संक्रमितको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ ।

आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सेनाले व्यवस्थापन गरेका मध्ये धेरै जसो शव काठमाडौं उपत्यका र आसपासका छन् ।

ती सवै शव यो विद्युतीय शव दाह गृहमा अन्त्येष्टि गर्न नसकिने भएकाले सँगैको बागमती किनारमा दाहसंस्कार गर्न लागिएको हो ।

शव व्यवस्थापनका लागि सेनाले पशुपति क्षेत्र विकास कोषसँगकै समन्यवमा यहाँ एकै पटकमा ८ वटासम्म शव दाह संस्कार गर्न सकिने व्यवस्था गर्दैछ ।

विद्युतीय शव दाह गृह रहेको ठाउँभन्दामाथिको आर्यघाटमा भने कोरोना संक्रमण बाहेकबाट मृत्यु भएकाको अन्त्येष्टि गरिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *